अस्कर अवार्ड छनोट प्रक्रिया विवादमा

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण
  • अमेरिकामा हुने अस्कर अवार्डमा पठाउने चलचित्रका लागि कम समय तोकी आवेदन खुला भएकोमा छनोट प्रक्रियामाथि प्रश्न 

आगामी वर्ष अमेरिकामा हुने अस्कर अवार्डका लागि नेपालबाट चलचित्र छनोट गर्ने प्रक्रिया विवादमा परेको छ । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सामाजिक सञ्जाल बन्दसमेत रहेको अवधिमा सामाजिक सञ्जालबाटै विगतभन्दा कम समय तोकी आवेदन खुला भएको सूचना दिएकाले छनोट प्रक्रियामाथि प्रश्न उठेको हो । 

समितिले अस्कर अवार्डका लागि आवेदन खुलेको जानकारी ११ भदौमा आफ्नै फेसबुक पेजमार्फत जानकारी गराएको थियो । २० भदौसम्मका लागि आवेदनको समय तोकेको थियो । तर, १९ भदौदेखि सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गरिदिएको थियो । विगतमा २० दिनदेखि एक महिनासम्म आवेदन अवधि राख्ने गरिएकोमा यसपालि नौ दिन मात्रै राखिएको र त्यसमा पनि सामाजिक सञ्जाल बन्द र त्यसपछिको आन्दोलनमय विषम परिस्थितिमा गोप्य रूपमा निर्णय गरिएको भन्दै चलचित्रकर्मीले आलोचना गरेका छन् ।

समितिको आवेदनअनुसार प्रतिस्पर्धाका लागि दुईवटा मात्रै नेपाली कथानक चलचित्र ‘गुन्यु चोलो’ (द ड्रेस) र ‘अञ्जिला’को आवेदन परेको थियो । समितिले ‘अञ्जिला’लाई छनोट गरेर बिहीबार (२ असोज)मा सिफारिस गरेको थियो । दुई चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको विश्लेषण र कलात्मक शिल्पलाई उत्कृष्ट ठहरेर नेपाली महिला खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित ‘अञ्जिला’लाई छनोट गरेको दाबीसहित समितिले विज्ञप्तिमार्फत नै सार्वजनिक गरेको थियो । 

यसअघि २०१८ देखि २०२३ सम्म छनोट समितिमै सदस्यसमेत रहेकाचलचित्र समीक्षक समाज नेपालका अध्यक्ष समीप्यराज तिमिल्सिना आवेदनका लागि समय नै छोटो भएको बताउँछन् । ‘विगतमा छनोट समितिमा सदस्य रहेर काम गरेको अनुभवका आधारमा म भन्न सक्नु कि यसपालि आवेदनको समय नै निकै कम भयो । विगतमा कम्तीमा पनि २० दिन समय दिइन्थ्यो, तर यसपालि नौ दिन मात्रै दिइएको रहेछ,’ उनले भने, ‘विगतमा सम्भावित फिल्म निर्माताहरू आवेदन दिन आएनन् भने उनीहरूलाई फोन नै गरेर पनि जानकारी गराइन्थ्यो । अहिले यस्तो नभएको गुनासो धेरैको छ ।’

त्यस्तै, अवार्डका लागि सिफारिसमा परेको फिल्मको मिडिया कोअर्डिनेटर नै सिफारिस समितिमा सदस्य रहनु, अर्का सदस्य अमेरिकामा रहेर यहाँको निर्णय प्रक्रियामा जोडिनुले पनि विवाद निम्तिएको तिमिल्सिनाको बुझाइ छ । ‘छनोट समिति बनाउँदा स्वार्थको द्वन्द्व बाझिने व्यक्तिलाई राख्न हुँदैन । तर, अहिले एन्जिला फिल्मको मिडिया कोअर्डिनेटर जीवन पराजुलीलाई नै समितिमा सदस्य राखिएको छ । यो गलत भयो,’ उनले भने, ‘त्यस्तै, अर्का सदस्य चिरञ्जीवी गुरागाईंले अमेरिकामा बसेर निर्णय लिएको देखियो । यो मिल्दो काम देखिएन । फिल्म नै नहेरी अमेरिकामा बसेर निर्णय गर्न कसरी मिल्छ ?’ 

चलचित्र निर्देशक नवीन सुब्बा पनि छनोट समितिले देशको प्रतिनिधित्व गर्ने चलचित्रलाई उत्प्रेरित गर्न नसकेको बताउँछन् । यसले विश्वमञ्चमा नेपालको विश्वासनीयता गुम्ने चुनौती बढेको उनको चिन्ता छ । ‘अस्करले जुन प्रकारको सिनेमालाई प्राथमिकतामा राख्छ, समितिले त्यस्ता सिनेमालाई प्रतिनिधित्व गर्न उत्प्रेरित गर्नुपथ्र्याे । तर, त्यसरी छनोट भएको देखिएन,’ उनले भने ।

आवेदन दिएर छनोटमा नपरेको ‘गुन्यु चोलो’का निर्देशक समुद्र भट्ट मात्र होइन, आवेदन प्रक्रियामै छुटेका ‘राजागञ्ज’का निर्देशक दीपक रौनियार र ‘भुठान’का निर्देशक विनोद पौडेलले पनि प्रश्न उठाएका छन् । ‘राजागञ्ज’ र ‘भुठान’ ओस्कारका लागि नेपालबाट दाबेदार मानिएका फिल्म हुन् । ‘गुन्यु चोलो’ टिमले त पत्रकार सम्मेलन नै गरेर समितिको निर्णयमाथि प्रश्न उठाएको छ । यो फिल्म अभिनेता नाजिर हुसेनले छनोट समितिको सदस्य आबद्ध रहेकै फिल्म छनोट भएकोदेखि एक सदस्य अमेरिकामा बसेर निर्णयलाई सदर गरेको भन्दै आपत्ति जनाएका छन् ।

सुझावित समाचार