नेपालको आयात–निर्यात हुने ठुलो नाकामध्येको पूर्वीनाका काँकडभिट्टाबाट हुने आयात–निर्यात ठप्प भएको छ । मेची भन्सार कार्यालयमा जेन–जी आन्दोलनका क्रममा आगजनी भएपछि आयात–निर्यात ठप्प भएको हो । आगजनी हुँदा मेची भन्सार कार्यालयको सम्पूर्ण संरचना पूर्ण रूपमा जलेर नष्ट भएको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले अहिले पूर्वीनाका काँकडभिट्टाबाट हुने आयात–निर्यात रोकिएको बताए । ‘मेची भन्सारको सबै संरचना खरानी भएको छ । यस्तो अवस्थामा कसरी आयात–निर्यात हुन्छ ?’ उनले भने, ‘काम गर्न संरचना त के टेबल–कुर्सीसम्म छैन । अहिले आयात–निर्यात पूर्ण रूपमा ठप्प भएको छ ।’
भारतसँगै भुटान र बंगलादेशसँग व्यापार हुने यो मुख्य नाका हो । योबाहेक अन्य देशसँग पनि यो नाकाबाट आयात–निर्यात हुँदै आएको छ । मेची भन्सार कार्यालयले गत आर्थिक वर्ष ०८१/८२ मा मात्र १५ अर्ब ९३ करोड राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्ष ०८१/८२ मा यो नाकाबाट ४७ अर्ब ६० करोड सामग्री आयात भएको थियो भने २५ अर्ब १३ करोड सामग्री विभिन्न देशमा निर्यात भएको थियो । यो नाकाबाट अलैँची, चिया, अम्रिसो, फलामेपाता, प्लाइउड, जडीबुटीजस्ता सामग्री निर्यात हुँदै आएको छ भने पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारी, लत्ताकपडाजस्ता सामग्री आयात हुँदै आएको छ ।
त्यस्तै, झापाको अर्को नाका भद्रपुर पनि ठप्प छ । यो नाकाबाट निर्यात नभए पनि आयात हुँदै आएको थियो । भद्रपुर भन्सारमा पनि आगजनी हुँदा ठप्प भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताए ।
चाडबाडका समयमा भएको आन्दोलनले बजारमा अत्यावश्यक सामग्री अभाव हुन सक्ने दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं बताउँछन् । सामग्री आयात नहुने भएपछि बजारमा बेथिति बढ्न सक्ने उनको भनाइ छ । ‘चाडबाडका वेलामा सबै भन्सार कार्यालय ध्वस्त भएका छन् । मेची भन्सार पनि मुख्य नाका हो । अब आयात–निर्यात ठप्प हुँदा चाडबाडका मुखमा अत्यावश्यक सामग्री अभाव हुन्छ,’ उनले भने, ‘त्यति मात्र हैन, अब बजारमा कालोबजारी बढ्छ । बजार मूल्य अकासिने सम्भावना छ । यो वेलामा अनुगमन गर्ने कुनै निकाय छैन । सबै क्षतविक्षत भएको छ । अब उपभोक्ता नै सचेत हुनुपर्ने अवस्था छ ।’
नाकामा आवतजावतमा कडाइ
भारतसँग जोडिएको झापाको मुख्य नाका काँकडभिट्टामा आवतजावतलाई कडाइ गरिएको छ । यो समयमा नाकामा आपराधिक गतिविधि हुन सक्ने भन्दै आवतजावतमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिए । ‘यस्तो वेलामा नाकामा आपराधिक गतिविधि हुन सक्छ । जेलबाट भागेका पनि भारततर्फ जान सक्छन् । त्यही भएर नाकामा कडाइ गरेका छौँ । आवतजावत छ । तर, कडाइ छ,’ उनले भने, ‘नेपाल र भारतका सुरक्षाकर्मीले गस्ती गरिरहेका छन् ।’
यद्यपि, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले कफ्र्यु आदेशका कारण नाकामा आवतजावत ठप्प भएको बताए ।