संसद् बैठक बस्ने ठाउँ नै रहेन

दुवै सदनका बैठक अनिश्चितकालका लागि स्थगित, संसद् सचिवालयका कागजात भने सुरक्षित

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा गरिएको आगजनीले संघीय संसद् भवन पूर्ण रूपमा ध्वस्त भएको छ । संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा सञ्चालन भइरहेको संसद् भवन काम नलाग्ने अवस्थामा पुगेको छ । अब संसद्को बैठक बस्ने ठाउँ नै छैन । 

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् । 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बानेश्वरको संसद् भवनको भित्री संरचना केही पनि बाँकी छैन । सो भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै आएको थियो । भवनभित्र कुर्सीहरू केही बाँकी छैन । दर्शकदीर्घा भुइँमा झरेको छ । ल्होत्से हल पूर्ण रूपमा जलेको छ । दलका शीर्ष नेताहरू बस्ने कक्ष पनि बाँकी छैन । प्रहरीहरू बस्ने क्वार्टर पनि बाँकी छैन । भवनका भित्तामा जेन–जी लेखिएको छ । सरकारलाई गाली गरिएको छ । भित्रै जान सकिने अवस्था छैन । आन्दोलनकारीले संघीय संसद् लेखेको प्लेकार्ड पनि बाँकी राखेका छैनन् । 

महासचिव पाण्डेयले बानेश्वरको संसद् भवनमा कुनै सभा वा कार्यक्रम सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए । ‘संसद् भवनमा सभा सञ्चालन गर्ने सबै कुरा जले । माइक, कुर्सी टेबल, साउन्ड सिस्टम बाँकी रहेन । भिडियो सिस्टम, मिडिया सेन्टर पनि सकियो । कम्प्युटर, ल्यापटप, टिभीहरू जले । कम्प्युटरमा रहेका रेकर्डहरू छैनन् । क्यान्टिन पनि जलाइयो,’ उनले भने, ‘राजनीतिक समस्या त थियो नै, बैठक चलाउन अब प्राविधिक समस्या पनि आयो ।’ 

संसद्का दस्ताबेजहरू भने सुरक्षित छन् । महासचिव पद्मप्रसाद पाण्डेका अनुसार संसद्का कागजातहरू सिंहरदरबारस्थित संसद् सचिवालयमा सुरक्षित छन् ।

आन्दोलनकारीले सिंहदरबारभित्र अन्य क्षेत्रका तोडफोड र आगजनी गरे पनि संसद् सचिवालयको कोठभित्र र भवनहरूमा ठुलो क्षति नपुर्याएकाले कागजातहरू सुरक्षित नै छन् । यद्यपि, भौतिक मन्त्रालयसँग जोडिएको संसद् सचिवालयको पार्किङमा रहेका गाडीहरू जलाइएका छन् । करिब २२ वटा मोटरसाइकल, १२ वटा गाडी जलाइएको छ । एक नम्बर भवनमा तोडफोड गरिएको छैन । दुई नम्बर भवनमा सिसाहरू फुटेका छन् । आन्दोलनकारीले सिंहदरबारभित्र रहेको कांग्रेस र एमालेको दलको कार्यालय जलाएर ध्वस्त पारेका छन् । 

सुझावित समाचार