पूर्वमन्त्री पोखरेलको ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ नामक पुस्तक बजारमा

बुधबार, १८ भदौ, २०८२
डिजिटल संस्करण

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलको ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ नामक पुस्तक बजारमा आएको छ।ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा महासचिव शंकर पोखरेलले पुस्तकको विमोचन गरेका हुन्। पुस्तकमा कम्युनिस्ट कार्यदिशा र वर्गीय चेतना, एमालेको गन्तव्य र निर्णायक शक्ति, पार्टी पुनर्जागरणमा कार्यकर्ताको भूमिका, प्रतिगमनको चक्र र गणतन्त्रको अविचलित यात्रालगायतका १४ विषयवस्तु समेटिएका छन्। 

एमाले महासचिव शंकर पोखरेलले पुस्तक वैचारिक वा सांगठनिक दस्ताबेज मात्र नभई, समग्र कम्युनिस्ट आन्दोलनको दीर्घकालीन मार्गचित्र रहेको बताए।उनले भने, ‘यो कृति नेतृत्व र कार्यकर्ताको समर्पणको प्रतिबिम्ब हो। जसले संगठन र आन्दोलनलाई सुदृढ तुल्याउन महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ।’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पुस्तक पार्टी निर्माणका अभियन्ताहरूका लागि उपयोगी हुने बताए । उनले भने, ‘यस पुस्तकमा पार्टी निर्माणको विभिन्न आयमबारे विमर्श गरिएको छ । आजको पार्टी निर्माणका समस्याबारे चिरफार गरिएको छ । यो पुस्तक संगठकका निम्ति महत्त्वपूर्ण सन्दर्भ सामग्री साबित हुने देखिन्छ ।’

पुस्तकका लेखक पोखरेलले पुस्तक आफ्नो पाँच दशक लामो राजनीतिक र सांगठनिक जीवनको सिकाइ, भोगाइ र अनुभवको सार रहेको बताए। उनले भने, ‘यसलाई पुस्तकको रूपमा पाठकसमक्ष ल्याउन मूलतः पार्टीभित्र देखापरेका वैचारिक र राजनीतिक रूपमा दक्षिणपन्थ अवसरवाद र संगठनात्मक अराजकताको उपद्रो नै यो पुस्तकको सिर्जना हो ।’ एमाले पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्लाको इन्चार्जसमेत रहेका पोखरेलले यसअघि गन्तव्य समाजवाद नामको पुस्तक लेखेका छन् ।
 

सुझावित समाचार