विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब नाघ्नुले के संकेत गर्छ ?
पछिल्लो समय देश ‘ग्रे लिस्ट’मा परेको समयमा कतिपयले ‘ब्ल्याक मनी’लाई ‘ह्वाइट मनी’ बनाउनुको परिणाम पनि हुन सक्छ यो विदेशी मुद्रा सञ्चितिको बढोत्तरी । साथै, हाम्रो आयातले भर्खरै गति लिन थालेको हुनाले पनि अहिलेको परिणाम देखिएको हुन सक्छ । रेमिट्यान्सको अनुपातमा आयात नबढेको हुनाले पनि यति ठुलो सञ्चिति देखिएको हुन सक्छ । सरकारले साउदी, कतार, कुवेतलगायत देशसँग श्रमसम्झौता गरेको हुनाले श्रमिकको न्यूनतम ज्यालालगायत सुविधामा वृद्धि भएकाले पनि यो अवस्था आएको हुन सक्छ । साथै, युरोप, कोरिया, जापानलगायत देशमा जानेहरूको कमाइ राम्रो भएकाले पनि रेमिट्यान्स बढेको हुन सक्छ ।
यति ठुलो विदेशी मुद्रा सञ्चितिबाट हामीले कति लाभ लिइरहेका छौँ त ?
यति ठुलो सञ्चिति विदेशी लगानीकर्ताका लागि सकारात्मक सूचक हो भने अर्थतन्त्रप्रतिको पनि सकारात्मक संकेत नै हो । यसले वैदेशिक ऋणको सावाँब्याज भुक्तानीको विश्वसनीयता बढाउँछ । संकट पर्दा ढुक्कले आयात गर्न सकिने अवस्था हुन्छ । हामीले यसबाट सीधै खर्च गर्न नमिले पनि राष्ट्र बैंक या वाणिज्य बैंकहरूबाट ऋण लिएर रोजगारी बढाउने, दीर्घकालीन विकासका आधार तयार गर्ने क्षेत्रमा गतिलो काम गर्न सके यसबाट एकातिर रोजगारी सिर्जना हुने र अर्कातिर राजस्वको आधार पनि बलियो हुने थियो । यस्तो अवस्थामा जनताको राज्यप्रतिको अपनत्व पनि बढ्ने थियो । तर, हामीले यसको खासै सदुपयोगतर्फ सोचेका छौँ जस्तो लाग्दैन ।
विदेशी मुद्रा सञ्चिति बढ्नु भनेको अर्थतन्त्र सुस्त हुनु हो भनिन्छ नि ?
यतिखेर बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य तरलता खर्बौं पुगेको छ । त्यसको लगानीका लागि उचित वातावरण बनाउन नसक्दा अर्थतन्त्र केही सुस्ताएको देखिएको हो । उपभोग्य वस्तुको आयात बढिरहेको भए पनि विकास निर्माणका क्षेत्रमा पुँजी लगानी हुन नसक्दा यस्तो अवस्था आएको हो ।