बालबालिकाको स्वास्थ्यका लागि गम्भीर मानिने रुबेला रोगलाई पूर्ण रूपमा निवारण गर्दै रुबेलामुक्त राष्ट्रको विश्वव्यापी मान्यता पाएको नेपालले प्रमाणपत्र पाएको छ।
यस ऐतिहासिक उपलब्धिलाई औपचारिक रूप दिँदै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफले आज स्वास्थ्य मन्त्रालयमा आयोजित एक विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्यमन्त्री प्रदीप पौडेललाई ‘रुबेला निवारण’को आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस उपलब्धिलाई सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको बताए। उनले यो सफलतालाई जोगाइराख्न र यसबाट प्राप्त अनुभवलाई अन्य रोग नियन्त्रणमा लगाउनु अबको प्राथमिकता भएको स्पष्ट पारे।
कार्यक्रममा नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेश सम्भाजीराव पान्डवले यो सफलता पाउनुमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र विशेषगरी गाउँगाउँसम्म स्वास्थ्य सेवा पुर्याउने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको योगदान अविस्मरणीय रहेको बताए।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले रुबेला उन्मूलन महत्त्वपूर्ण उपलब्धि भए पनि अबको मुख्य लक्ष्य दादुरा उन्मूलन गर्नु रहेको स्पष्ट पारे। ‘दादुरा निकै छिटो फैलिन्छ। यदि हामीले यसको निगरानी प्रणालीलाई बलियो बनाएर यसलाई उन्मूलन गर्न सक्यौँ भने, त्यही प्रणाली अन्य रोगहरूको नियन्त्रणका लागि पनि उदाहरणीय बन्नेछ,’ उनले भने।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार यो सफलता दशकौँको निरन्तर प्रयासपछि मात्र सम्भव भएको हो। सरकारले राष्ट्रिय खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्नु, उच्च खोप कभरेज कायम गर्नु, बलियो निगरानी प्रणाली विकास गर्नु र कुनै पनि ठाउँमा प्रकोप देखिनासाथ द्रुत प्रतिकार्य गर्नु नै यो सफलताको मुख्य कारण रहेको अधिकारीहरूले बताएका छन्।