पत्रकार एवं साहित्यकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ को सार्वजनिक भएको छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, राजनीतिक विश्लेषक शंकर तिवारी, साहित्यकार अमर न्यौपाने, श्रीओम श्रेष्ठ ‘रोदन’लगायतले उक्त पुस्तक सार्वजनिक गरेका हुन्।
कार्यक्रममा राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पुस्तकबारे बोल्दै राजनीतिक व्यक्तित्व बखानसिंह गुरुङलाई पुस्तकको प्रमुख पात्रका रूपमा अघि सारेर पुस्तक प्रकाशन गर्नु चुनौतीपूर्ण रहेको र त्यो चुनौतीपूर्ण कामलाई लेखकले पुस्तकमार्फत सफल बनाएको दाबी गरे।
त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस्तकमा सात सालको क्रान्तिको कथा, उबेलाको जीवनको तस्बिर, सहकारीसँग सम्बन्धित विषयका साथै चितवनको परिवेश समेटिएको बताए।
समीक्षकद्वय शंकर तिवारी र अमर न्यौपानेले उपन्यासको ऐतिहासिक पक्षका साथै चितवनको बस्ती विकासको इतिहास, कांग्रेसको इतिहासका साथै पर्यावरणीय चेतसमेत केलाइएकोले उपन्यास पठनीय भएको चर्चा गरे। त्यस्तै, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले लेखक पराजुलीले पत्रकारितामा झैँ आख्यानमा पनि सशक्त रूपमा आएको बताए।
कार्यक्रममा उपन्यासकार पराजुलीले आफूले ऐतिहासिक घटनाक्रमलाई जोखिम उठाएर आफूले उपन्यास तयार पारेको बताए। उनले चितवनको बस्ती विकासमा, सहकारी स्थापनामा र चितवनको राजनीतिमा बखानसिंह गुरुङको योगदानलाई आफूले सम्मान गरेको उल्लेख गरे।