सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन्। त्यसका लागि दुवै पार्टीले सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेका छन्।
सोही विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। बैठकले कांग्रेसबाट उपसभामुखको उम्मेदवार छान्ने बताइएको छ।
त्यस्तै, एमालेले संसदीय दलको कार्यालयमा हस्ताक्षर सुरु गरेको छ। एमालेका एक सांसदका अनुसार खाली कागजमा हस्ताक्षर गरिएको छ। एमालेका सबै सांसदलाई संसदीय दलको कार्यालयमा बोलाइएको छ।
उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद हुन्। उनलाई हटाएर नेपाली कांग्रेसबाट उपसभामुख बनाउन लागिएको हो। त्यसका लागि संसदमा दुईतिहाइ चाहिने भएकाले साना दलहरूसँग पनि छलफल गर्न लागिएको छ।