- कारागार झडपमा ज्यान गुमाएका भरत चौधरीका आफन्तले शव बुझ्न मानेनन्
- घाइते २४ वर्षीय कर्ण सलामीमगरलाई थप उपचारका लागि काठमाडौं लगियो
- कर्णको बायाँ हात भाँचिएको र हातको नशासमेत चुँडिएको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका एक चिकित्सकले बताए
कैदीबन्दीबिच सांघातिक आक्रमणपछि शुक्रबार रातिदेखि अशान्त बनेको कैलाली जिल्ला कारागारको बन्दीगृहमा आइतबार सुरक्षाकर्मी प्रवेश गरेका छन् ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीसँगै कारागारका कर्मचारीले आइतबार दिउँसो बन्दीगृहमा गएर कैदी गणना गरेका हुन् । शुक्रबार राति कैदीबन्दीको एउटा समूहले अर्को समूहमाथि आक्रमण गरेपछि कैदीबन्दीले बन्दीगृहभित्र सुरक्षाकर्मी र कारागारका कर्मचारीलाई प्रवेश निषेध गरेका थिए ।
आइतबार दिउँसो कैदीबन्दीको छलफलपछि भित्र जान दिन सहमत भएपछि सुरक्षाकर्मी गएको शनिबार मात्र सरुवा भएर आएका जेलर जलान्धर भुसालले बताए । ‘मैले एक्लै कैदीबन्दीसँग छलफल गरेँ, उनीहरूले जथाभावी स्थानान्तरण भयो, स्थानान्तरण गर्दा सोधपुछ हुनुपर्यो, भित्रको वातावरण त्रसित भयो भन्ने कुरा गरे,’ भुसालले भने, ‘आगामी दिनमा यी विषय सुधार गरेर जाने प्रतिबद्धता जनाएपछि उहाँहरूबन्दीगृहभित्र जान दिन सहमत हुनुभयो ।’ कारागारभित्र रहेका कैदीबन्दीको अवस्था सामान्य रहेको उनले बताए ।
यसअघि कैदीबन्दीले बन्दीगृहको मूलगेटमा ग्यास सिलिन्डर राख्दै प्रहरीले जबर्जस्ती भित्र पस्न खोजे ग्यास सिलिन्डरमा आगो लगाएर विस्फोट गरिदिने धम्की दिएका थिए । घटनापछि शनिबार बिहान प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सुरक्षा निकायको टोली थुनुवा कक्षमा जान खोजे पनि कैदीबन्दीले भित्र जान दिएनन् । मानव अधिकार आयोगको टोलीलाई समेत कैदीबन्दीले बन्दीगृह प्रवेश गर्न दिएका थिएनन् । कारागार प्रशासनका अनुसार बन्दीगृहको ब्लक ‘ए’ मा ३९६, ‘बी’मा १९८ र ब्लक ‘सी’मा ५७ जना कैदीबन्दी छन् । ब्लक ‘सी’मा महिला कैदीबन्दी हुन् ।
शुक्रबार रातिको घटनापछि कैदीबन्दीहरूको नियन्त्रणमा रहेको कैलाली जिल्ला कारागारमा आइतबार अपराह्नपछि सामान्य अवस्थामा फर्किएको छ ।
जिल्ला कारागारको ब्लक ‘ए’मा रहेका कैदीबन्दीले ब्लक ‘बी’मा रहेका कैदीबन्दीमाथि शुक्रबार राति आक्रमण गर्दा एकजनाको मृत्यु भएको थियो भने ४८ जना घाइते छन् । प्रमुख जिल्ला अधिकारी हमालले कारागारभित्रको अवस्था अहिले सामान्य बनेको बताए । उनले दुई ब्लकबिच कैदीबन्दीले भत्काएको वाल पुनर्निर्माण गर्ने, वालमाथि काँडेतार लगाउने, सिसिक्यामेरा जडान गर्ने तयारी रहेको बताए ।
‘कारागारबाहिर अस्तिदेखि नै सुरक्षा बढाएका थियौँ, बन्दीगृहमाथि बस्ने सुरक्षाकर्मीको संख्या पनि अहिले बढाएका छौँ’, उनले भने, ‘कारागारभित्रको अवस्था सामान्य बनिसकेको छ । यस्ता घटनाहरू दोहोरिन नदिन सतर्कता अपनाएका छौँ ।’ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाले कारागारको अवस्था सामान्य बनिसकेको बताए ।
कैलाली कारागारमा यसअघि २२ साउनमा पनि कैदीबन्दीबिच झडप हुँदा पाँचजना घाइते भएका थिए । घाइते एकजना अझै उपचाररत छन् । सोही दिनदेखि कारागारमा कैदीबन्दीको गणना हुन सकेको थिएन । कारागारमा हरेक दिन कैदीबन्दीको गणना हुन्छ ।
कारागार झडपमा ज्यान गुमाएका भरत चौधरीको शव बुझ्न मानेनन् आफन्तलेजिल्ला कारागार कैलालीमा शुक्रबार राति भएको घटनामा मारिएका भरत चौधरीको शव आफन्तले बुझ्न मानेका छैन्न् । शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । कारागारको ब्लक ‘ए’मा रहेका कैदीबन्दीले ब्लक ‘बी’मा रहेका कैदीबन्दीमाथि आक्रमण गर्दा धनगढी उपमहानगरपालिका–४, का ३६ वर्षीय चौधरीको मृत्यु भएको थियो । घटनामा ४८ जना कैदीबन्दी घाइते भएका छन् ।
बाँकेको नौबस्ता क्षेत्रीय कारागारबाट शनिबार मात्र सरुवा भएर आएका जेलर जलान्धर भुसालले भने–मैले एक्लै कैदीबन्दीसँग छलफल गरेँ, उनीहरूले जथाभावी स्थानान्तरण भयो, स्थानान्तरण गर्दा सोधपुछ हुनुप¥यो, भित्रको वातावरण त्रसित भयो भन्ने कुरा गरे । आगामी दिनमा यी विषय सुधार गरेर जाने प्रतिबद्धता जनाएपछि उनीहरू बन्दीगृहभित्र जान दिन सहमत भए ।
मृतकका भाइ विजय चौधरीले आफूहरूले न्याय नपाउँदासम्म शव नउठाउने बताए । उनले कारागारभित्र घटना हुनुमा प्रशासनको गम्भीर सुरक्षा कमजोरी रहेको भन्दै यसबारे छानबिन हुनुपर्ने माग गरे । ‘मैले आफ्नो दाइ गुमाएको छु । कारागारभित्रकै मान्छे मारिनुपर्ने अवस्था कसरी आयो यसको छानबिन हुनुपर्छ,’ उनले भने, ‘कारागारभित्र धारिलो हतियार कहाँबाट गयो, यो योजनाबद्ध हत्या हो, हामीले न्याय पाउनुपर्यो, अरु केही चाहिँदैन ।’
पटकपटक झडप हुँदा पनि प्रशासनले सजगता नपनाउँदा घटना भएको आफन्तको भनाइ छ । मृतकका आमा, छोरी, भाइ र बुहारी छन् । मृतकका भाइ विजयले आफूले दाइ गुमाए पनि अरूलाई यस्तो नहोस् भनेर आफूहरूले छानबिनको माग गरेको बताए । ‘दाइको १४ वर्षकी छोरी छ, आमा छैन, बुबालाई मारिदिए उसले नागरिकता पनि कसरी बनाउँछ,’ चौधरीले भने । उनले घटनापछि लास देखाउनेबाहेक प्रशासनले आफूहरूसँग कुनै छलफल नगरेको बताए । शवको पोस्टमार्टम हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी हमालले मृतकका आफन्तसँग छलफल भइरहेको बताए ।
कैदीबन्दीबिच किन भयो झडप ?
कारागारमा हरेक आर्थिक वर्षको सुरुमा कैदीबन्दीमध्येबाटै चौकीदार र नाइके चयन हुन्छ । चौकीदारले कैदीबन्दीको नेताको रूपमा आन्तरिक व्यवस्थापनको काम गर्छन् । जिल्ला कारागारमा कैदीबन्दीकै दुई समूह छन् । दुई समूहबिचको विवादका कारण कैलाली कारागारमा चौकीदार चयन हुन सकेको छैन । २३ कात्तिक ०७८ मा कैलालीको टीकापुरमा २३ वर्षीय भूपेन्द्र बडुवाललाई एक समूहले लखेटीलखेटी धारिलो हतियार प्रहार गरी हत्या गर्यो । उक्त हत्या काण्डमा नवीन रावलसहित १९ जना पक्राउ परे र अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्यो । यो समूहले कैलालीको पूर्वी क्षेत्रमा आपराधिक गतिविधि चलाउँदै आएको थियो ।
कारागार पुगेपछि उनीहरूले पनि भित्रै समूह बनाएर हैकम जमाउन थाले । कारागारमा कैदीबन्दीको आन्तरिक प्रशासन उनीहरूले नियन्त्रण गर्न थाले । कारागारभित्रैबाट उनीहरू बाहिरसमेत गुन्डागर्दी चलाउन थालेपछि समूहको नेतृत्व गर्दै आएका नवीन रावलसहित १४ जनालाई कारागार प्रशासनले गत ३ असारमा दाङ, भैरहवा र बर्दिया कारागारमा स्थानान्तरण गर्यो ।
जिल्लाका विभिन्न ठाउँमा भएका आपराधिक घटनामा पक्राउ परी कारागार चलान भएकाहरू पनि यो समूहमा आबद्ध भए । बडुवाल हत्या प्रकरणका थप तीनजनालाई गत साता सरुवा गरिएपछि कैदीबन्दीबिच बिहीबार कुटाकुट भएको थियो । कारागारभित्र बडुवाल हत्याकाण्डकै कपिल श्रेष्ठको छुट्टै समूह थियो । तुलनात्मक रूपमा उनको समूह बलियो भने थिएन । रावल पक्षले आफूहरूलाई पक्राउ गर्न श्रेष्ठले भूमिका खेलेको आरोप लगाएका थिए ।
बडुवाल हत्याका थप तीनजनालाई गत बिहीबार कारागार प्रशासनले थाहै नदिई सरुवा गरेपछि कारागारभित्रै कैदीबन्दीबिच कुटाकुट भएको थियो । पाँचजना घाइते भएका भए । यसअघि कैदीबन्दी सरुवाकै विषयमा गत २८ असारमा नाइके खगेन्द्र बोगटी कुटिएका थिए ।
सुरक्षा स्रोतका अनुसार रावल समूहका अधिकांश कारागारको ब्लक ‘ए’मा बस्थे । उनीहरूले ब्लक ‘बी’ मा पनि बर्चश्व जमाएका थिए । यही समूहमा आबद्ध बडुवाल हत्याकाण्डका दुईजना ब्लक ‘बी’मा बस्थे । उनीहरूले ब्लक ‘बी’ समूहको वर्चश्व कायम राखेका थिए, तर दुवैजनाको गत बिहीबार सरुवा भयो । ‘कारागारमा चौकीदार पक्षले हैकम जमाएको हुन्छ । अर्को दबिएर रहेको पक्ष हुन्छ । दुईजनाको सरुवा भएसँगै रावल समूह कमजोर बनेपछि ब्लक ‘बी’मा दबिएर रहेका कैदीहरू जुर्मुराउन थाले,’ सुरक्षा स्रोतले भन्यो, ‘ब्लक ‘ए’मा रहेको रावल समूहले ब्लक ‘बी’मा आफ्नो वर्चश्व रहन्न कि भनेर शुक्रबार राति सुतेका वेला आक्रमण गरेको हो ।’ घाइते सबैजसो ब्लक ‘बी’कै कैदीबन्दी छन् ।
रावल र श्रेष्ठ समूहबिचको विवादको टकरावले यस वर्षका लागि कारागारको चौकीदार चयन हुन सकेको छैन । ‘चौकीदारको सजाय पनि कटौती हुन्छ, चौकीदारले भनेपछि चित्त नबुझे पनि कैदीबन्दीले मान्नुपर्ने हुन्छ, त्यसैले चौकीदार बन्नका लागि को हुने भन्ने लडाइँ छ,’ कारागारका एक अधिकारीले भने, ‘कारागारमा वर्चश्व देखाएर कसले नेतृत्व गर्ने भन्ने लडाइँका कारण पटकपटक झडपका घटना भइरहेका हुन् ।’ प्रशासनको सिफारिसमा कारागार व्यवस्था विभागले एक वर्षका लागि चौकीदार नियुक्त गर्छ । स्रोतका अनुसार कैदीबन्दीबिचको विवादका कारण अप्रिय अवस्था आउन सक्ने भन्दै प्रशासनले चौकीदार सिफारिस गरेको थिएन ।
कारागार स्रोतका अनुसार आफ्नो समूहका कैदीको सरुवा गरिएको विरोधमा गत २२ साउनमा ब्लक ‘ए’का कैदीबन्दीले ब्लक ‘बी’का कैदीबन्दीको रासन र ग्यास आफ्नो नियन्त्रणमा राखेका थिए । त्यस दिन बिहान ब्लक ‘बी’का कैदीबन्दी भोकै बसे । ‘त्यो दिन बेलुकीका लागि ब्लक ‘सी’बाट सापटी लिएर १० कठ्ठा चामल, दाल, नुन, तेल र दुई सिलिन्डर ग्यास दियौँ,’ कारागार स्रोतले भन्यो, ‘तरकारी बाहिरबाट मगाइदिएका थियौँ ।’ ब्लक ‘सी’मा महिला कैदीबन्दी बस्छन् ।
बेलुकी खाना खाइसकेपछि भने कैदीबन्दीबिच झडप भएको थियो । २३ साउनको बिहानैदेखि ब्लक ‘बी’का कैदीबन्दी आन्दोलनमा उत्रिएका थिए । विवादका कारण २२ साउनपछि कारागारभित्र कैदीबन्दीको दैनिक हुने गणनासमेत रोकिएको थियो । कैदीबन्दी आन्दोलनमा उत्रिएपछि प्रजिअ हमालसहितको सुरक्षा टोली कारागारभित्र गएर दुवै ब्लकका कैदीबन्दीसँग छलफल गरेको थियो । ‘सुरक्षा टोलीसँग दिउँसो मिलेर बस्ने सहमति भएको थियो, तर त्यही राति ब्लक ‘ए’का कैदीबन्दीले अर्को ब्लकका कैदीबन्दी सुतेका वेला आक्रमण गरे,’ एक सुरक्षा अधिकारीले भने, ‘सम्भावित जोखिमको आकलन गर्न नसक्दा ठुलो घटना भयो ।’