बुढ्यौलीमा नागरिकता पाएका दलितको घर बनाउन चन्दा संकलन अभियान

बिहिबार, २६ असार, २०८२
डिजिटल संस्करण

सिराहाको गोलबजार नगरपालिका– ३ जमदह मुसहर्निया गाउँमा आश्रय लिएर एकल जीवन बिताउँदै आएका ६४ वर्षीय नथु दमाईंको घर बनाउन स्थानीयले चन्दा अभियान थालेका छन् । गाउँघरमा सिरक–डस्ना सिलाएर हातमुख जोड्दै आएका उनको आफ्नै घरमा बस्ने चाहना पूरा गर्न चन्दा संकलन अभियान थालिएको स्थानीय आनन्द पाख्रिनले बताए ।

‘घर नहुँदा गाउँघरमा आश्रय लिएर बस्दै आएका दमाईंले आफ्नै घर बनाउने रहर भएको सुनाएका थिए,’ उनले भने, ‘सिरक–डस्ना सिलाउँदा प्राप्त हुने रकमले हातमुख जोड्न पनि मुस्किल हुने भएकाले नयाँ घर बनाइदिन चन्दा संकलन अभियान थालेका हौँ ।’

नयाँ घर बनाउन चन्दा अभियान व्यवस्थित गर्न बुधबार गोलबजारस्थित ग्लोबल आइएमई बैंकमा खातासमेत खोलिएको उनले बताए । ‘सरकारले दिएको सामाजिक सुरक्षा भत्ताबापत पाएको १५ हजार रुपैयाँ जोगाएर राखेको रकम जम्मा गरेर बैंकमा खाता खोलेँ,’ दमाईंले नयाँ पत्रिकासँग भने, ‘अब सहृदयीहरूले घर बनाउन दिने रकम त्यही खातामा आउँछ होला ।’

मनकारीहरूले दिएको रकम खातामा जम्मा गरेर आगामी भदौको पहिलो सातादेखि नयाँ घर बनाउने योजना रहेको उनले सुनाए । वर्षौँदेखि जमदहको मुसहर्निया गाउँवरपरका टोल–बस्तीमा आश्रय लिएर बस्दै आएका उनको नयाँ घर निर्माणका लागि जग्गा व्यवस्थापन गर्न वडा कार्यालयसँग समन्वय गरिरहेको गोलबजारस्थित दलित महिला केन्द्र नेपालले जनाएको छ । 

See More On

सुझावित समाचार