रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो’

शुक्रबार, २४ जेठ, २०८२
डिजिटल संस्करण

कानुन व्यवसायीहरूले सहकारीको बचत हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खेपिरहेको मुद्दाबारे ‘ब्रिफिङ’ गरेका छन् । लामिछानेको विचाराधीन मुद्दाको बहसमा संलग्न कानुन व्यवसायीहरूले बिहीबार रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू, सांसदहरू र पार्टीसँग आबद्ध कानुन व्यवसायीलाई ‘ब्रिफिङ’ गरेका हुन् ।

रास्वपा कानुन विभागका अनुसार ‘ब्रिफिङ’मा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ, मेघराज पोखरेल, सुरेन्द्र थापा, अधिवक्ताहरू दीपेन्द्र झा, डा. नारायणदत्त कँडेल, राजेन्द्र सेढाईं, सुदीज्ञ पन्त र सञ्जल गोले सहभागी थिए । पन्तले संसदीय छानबिन विशेष समितिको प्रतिवेदनको निष्कर्षविपरीत मुद्दा लगाइएको, लामिछानेले कुनै पनि सहकारीमा ऋण लिन निवेदन नदिएको, सहकारीबाट उनको बैंक खातामा पैसा नआएको र लामिछानेले गोर्खा मिडियाको प्रबन्ध निर्देशकका रूपमा कम्पनीको खातामा रहेको पैसा खर्च गरेको हकमा आकर्षित हुँदै नहुने फौजदारी अभियोग लगाइएको बताए । मुद्दा कानुनीभन्दा बढी राजनीतिक भएको उनले ब्रिफिङ गरेका थिए । मुद्दाले गोर्खा मिडियाको सम्पत्ति बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्ने सम्भावनासमेत टारिदिएको पन्तको भनाइ थियो । उनका अनुसार मुद्दामा बचत फिर्ताको माग नै गरिएको छैन । 

वरिष्ठ अधिवक्ता थापाले रवि लामिछाने सुरुदेखि नै सम्बद्ध रहेर ठगी गरे भन्ने भाष्य स्थापित गराउन खोजिएको बताए । ‘तर, उहाँ ती सहकारीमा सम्बद्ध रहेको प्रमाण कहीँकतै छैन, पैसा ल्याएको त परै जाओस् । गोर्खा मिडियामा पैसा ल्याएर सम्पत्ति शुद्धीकरण गरेको भन्दै सम्पत्ति शुद्धीकरणको समेत मुद्दा लगाइयो । यो मुद्दाचाहिँ सांसद पद निलम्बन गर्नैका लागि हो,’ उनले भने ।

वरिष्ठ अधिवक्ता पोखरेलले नथुन्नुपर्ने केसमा थुनेर वैकल्पिक राजनीतिक शक्तिको घाँटी निमोठ्ने काम भएको बताए । ‘नथुन्नुपर्ने केसमा थुनियो । सहकारीको पैसा कानुनविपरीत कम्पनीमा आयो र त्यसलाई गोर्खा मिडियाले जिबी राईको सर्ट टर्म लोन भनेर भनेपछि कम्पनी त ऋणी भएन, भए पनि जिबी होलान् । रविलाई किन तानेको ? राजनीतिमा वैकल्पिक शक्ति आएको थियो, घाँटी निमोठ्ने काम भयो,’ उनले भने । संसदीय छानबिन विशेष समितिले रकम ल्याउन रविको संलग्नता छैन भनेको उल्लेख गर्दै पोखरेलले भने, ‘तर, उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशमा रवि लामिछानेको योजना, सहभागिता र संगठित प्रयासमा पैसा आएको भनिएको छ । तर, त्यसलाई पुष्टि गर्ने प्रमाणबारे केही उल्लेख छैन ।’

अधिवक्ता कँडेलले सहकारीको बचत अपचलनसँग सम्बन्धित कुनै प्रमाण नभए पनि मुद्दा गोर्खा मिडियामा रहँदा लामिछानेले गरेका कामका आधारमा चलाइएको बताए । ‘त्यसैले मुद्दाको उठान नै गलत नियतका साथ गरिएको छ । जिवी राईले गरेका अपराधमा रविलाई फसाउन खोज्नु राजनीतिक दुराशय हो,’ उनले भने । अधिवक्ता झाले सहकारीको सदस्य नै नरहेको मान्छेले कसरी सहकारीको बचत अपचलन गर्न सक्छ भनेर प्रश्न गरे । अधिवक्ता सेढाईंले मुद्दामा तथ्यभन्दा राजनीतिक गन्ध बढी रहेको बताए । ‘सर्वोच्चको आदेशमा थुनामै पठाउनुपर्ने जुन कारण दिइएको छ, त्यसमा विश्वासयोग्य आधार छैन,’ उनले भने । अधिवक्ता सुदीज्ञ पन्तले लामिछानेलाई लगाइएका अभियोगबारे विस्तृत समष्टिगत विवरण पेस गरेका थिए । 

सुझावित समाचार