सार्वजनिक सवारी नचलेको वेला बढी भाडा असुल्ने राइड सेयरिङका चालकलाई कडाइ

मंगलबार, २१ जेठ, २०८२
डिजिटल संस्करण

राइड सेयरिङ गर्ने सवारीचालकहरूले सार्वजनिक सवारी सञ्चालन नभएको मौका छोपी बढी भाडा असुल गरेको गुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले चेकजाँचमा कडाइ गरेको छ । कार्यालय प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्रीको नेतृत्वमा ट्राफिक प्रहरीहरूले राइडिङ सेयर गरिरहेका सवारीसाधनलाई रोकी आवश्यक चेकजाँच गरिरहेका छन् ।

चेकजाँचको क्रममा सोमबारदेखि मंगलबार मध्याह्नसम्म नियम उल्लंघन गरी यात्रु बोकिरहेको अवस्थामा १० सवारी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक प्रदीप खत्रीले बताएका छन् । ६ लेन सडकअन्तर्गत सिर्जनानगर, राधेराधे र पुरानो बाटोको निकोसेरा थिमि क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको उनले बताए ।

अफलाइनबाट भाडामा ठगिने मात्र नभई अपराधको जोखिम पनि उत्तिकै हुने ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी गराए । राइड सेयरिङ गर्नेहरूकाे अनिवार्य अनलाइन हुनुपर्ने स्पष्ट पार्दै प्रहरी निरीक्षक खत्रीले नियम पालना नगर्नेलाई नियन्त्रणमा लिएको प्रस्ट पारे ।

पक्राउ परेका चालकहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा आवश्यक अनुसन्धानका लागि पठाएको र सवारीसाधन भने जिल्ला ट्राफिक कार्यालयकै नियन्त्रणमा रहेका उनले जनाएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिइएका यस्ता राइड सेयर गर्ने चालकहरुलाई ठगी कसुरमा मुद्दा चलाउन सक्नेछ भने ट्राफिक कार्यालयले ट्राफिक नियमावलीअनुसार जरिवाना र कारबाही गर्ने कानुनी व्यवस्था रहेको छ ।

भक्तपुर प्रहरी प्रमुख रहेका प्रहरी उपरीक्षक माधव बुढाथोकीले यात्रुहरू आफैँ पनि सचेत रही अफलाइन भएका सवारीसाधनमा राइड सेयर गर्नु नहुने सुझाव दिएका छन् । अफलाइनले दुर्घटना हुँदासमेत चालक उम्कने सम्भावना र चालक आपराधिक मानसिकताको भए चोरी, लुटपाट, जबर्जस्ती र अपहरणजस्ता अपराधको जोखिम बढ्ने हुँदा अफलाइन राइड सेयर गर्न नहुने उनको सुझाव छ ।
 

सुझावित समाचार