शारदा नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

सोमबार, १३ जेठ, २०८२
डिजिटल संस्करण

सल्यानको शारदा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। नगरपालिकाभित्रका १५ महिनासम्मका सम्पूर्ण बालबालिकाहरूले राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सबै मात्राका खोप लगाएको प्रमाणीकरण गरिएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित जिल्लाकै पहिलो पालिकाका रूपमा शारदा नगरपालिकालाई घोषणा गरिएको हो।

नगरपालिकाका सबै १५ वडाका १५ महिनाभित्रका ४६० बालबालिकाले पूर्ण खोप प्राप्त गरेको नगरपालिकाले जनाएको छ। बालबालिका सबैले पाउनुपर्ने खोप पाइसकेपछि नगरप्रमुख प्रकाश भण्डारीले एक कार्यक्रमबिच पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेका हुन्।

नगरस्तरीय खोप समन्वय समितिका संयोजकसमेत रहेका नगरप्रमुख भण्डारीले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नपरोस् भन्ने सवालमा पालिका गम्भीर रहेको बताए। स्वस्थ बच्चा जन्मिए मात्र मुलुक समृद्ध हुने उनको भनाइ छ। नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउँदै उनले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको योगदानकै कारण यो कार्य सम्भव भएको उल्लेख गरे।

यस्तै, नगर उपप्रमुख सुस्मिता सापकोटा (सुनार)ले खोप सुनिश्चितताका लागि महिला स्वयंसेविकाहरूले अत्यन्तै प्रभावकारी भूमिका निर्वाह गरेको बताइन्।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढामगरले खोपजन्य रोगबाट जोगाउनका लागि खोप कार्यक्रम महत्त्वपूर्ण रहेको बताए। १४ वटा विभिन्न रोगहरूबाट जोगाउनका लागि बालबालिकालाई नौ प्रकारका खोप दिने गरिएको उनले जानकारी दिए।

सुझावित समाचार