सावा खोलाको मोटरेबल पक्की पुल सञ्चालनमा

आइतबार, १२ जेठ, २०८२
डिजिटल संस्करण

खोटेहाङ र जन्तेढुंगा गाउँपालिकाको सिमानामा पर्ने सावा खोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ससर्त अनुदानअन्तर्गत आठ करोड २१ लाख लागतमा निर्माण गरिएको मोटरेबल पक्की पुल शनिबारबाट कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले उद्घाटन गरेका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका– ७, खोटाङ बजार र जन्तेढुंगा गाउँपालिका– ५, चिसापानीको सिमानामा सावा खोलाको भानुमती घाटमा निर्माण गरिएको ४१ दशमलव ४० मिटर लम्बाइ तथा ८ दशमलव ४० मिटर चौडाइको छ । 

पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले खोटाङको विकासलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताए । ‘सावा खोलाको पक्की पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्यायौँ । बुँवा खोलाको पुल द्रुत गतिमा निर्माण भइरहेको छ । सुनकोशीस्थित बंसिला घाटको पक्की पुल पनि समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेका छौँ,’ उनले भने, ‘सुनकोशीको बंसिलाघाट र धाप्लाङघाटको पक्की पुल निर्माण भएपछि खोटाङवासीको दुःखका दिन सकिन्छ । त्यसपछि खोटाङवासीको समृद्धिको बाटो खुल्छ ।’ 

मन्त्री राईले दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि अवरुद्ध बनेको पूर्वी तराईसँगको आवतजावतलाई सहज बनाउन फोक्सिङटारदेखि धाप्लाङघाटसम्मको नयाँ सडक निर्माण सुरु गरिएको जानकारी दिए । सावा खोलामा मोटरेबल पक्की पुल निर्माण भएसँगै खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयवासीलाई बेलटार हुँदै तराई झर्न तथा जन्तेढुंगा र वराहपोखरी गाउँपालिकाका स्थानीयलाई सदरमुकाम दिक्तेल र खोटाङ बजार आवतजावत गर्न सहज भएको खोटेहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले बताए । 

सावा खोलाको मोटरेबल पक्की पुल दुई वर्षभित्र सम्पन्न गर्ने गरी ११ वैशाख ०८० मा निर्माण कम्पनीले सडक विभागसँग सम्झौता गरेर निर्माणको काम सुरु गरेको थियो । निर्माण कम्पनी सुसम–आदित्य–विजय निर्माण सेवा उदयपुरले समयमै सावा खोला मोटरेबल पक्की पुल निर्माणको काम सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि शनिबार औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

See More On

सुझावित समाचार