तीनै तहको सरकारबिच एक–अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

बिहिबार, २५ बैशाख, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक–अर्काको अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका छन् ।

प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम प्रादेशिक इकाइले आज धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानीय तहबीच अन्तरसम्बन्ध सुदृढीकरणसम्बन्धी अन्तर्क्रिया एवं नीति, कार्यक्रम तथा बजेटसम्बन्धी छलफल कार्यक्रमको आज उनले उद्घाटन गरे ।

एक–अर्काको अस्तित्व स्विकार्ने वातावरण नहुँदा अवस्था जटिल बन्दै जाने उनले बताए । ‘बजेट निर्माणमा सधैँ हामीले त्रुटि गरिरहने र जनताले गुनासो गरिरहने परिपाटीलाई पटकपटक दोहोर्याउने हो भने संघीय संरचनामा हामी उभिएको व्यर्थ हुनेछ,’ उनले भने ।

मुख्यमन्त्री शाहले तीन तहको सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा जोड दिए । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले कार्यसूची प्रस्तुतिसहित स्वागत मन्तव्य राखे । अन्तर्क्रियामा विभागीय मन्त्री, विषयगत समिति सभापति, प्रदेश सभा सदस्य, मुख्यसचिव, विभागीय सचिव र सुदूरपश्चिमका सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । रासस
 

सुझावित समाचार