निःशुल्क आँखा शिविरबाट सात सयजना लाभान्वित

बिहिबार, २५ बैशाख, २०८२
डिजिटल संस्करण

मालिका गाउँपालिका– ६ दरबाङमा सञ्चालित तीनदिने निःशुल्क आँखा उपचार शिविरबाट ७१५ जना लाभान्वित भएका छन् । मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल पोखरा, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दी र आँखा उपचार केन्द्र दरबाङको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ४५९ जना  महिला र २५६ जना पुरुषले आँखा परीक्षण गराएका हुन् । 

मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालका अनुसार  शिविरमा ५२ जना महिला र २२ जना पुरुषसहित ७४ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो। बिरामीहरूलाई निःशुल्क औषधि र चस्मा पनि वितरण गरिएको थियो ।

हिमालयन आँखा अस्पतालका चिकित्सक हरिविक्रम अधिकारी नेतृत्वको टोलीले  शिविर सञ्चालन गरेको हो । शिविरमा मालिका गाउँपालिकासहित धौलागिरि, मालिका, बेनी नगरपालिका र पर्वतको मल्लाजबाट पनि बिरामी सेवा लिन आएका थिए । 

सुझावित समाचार