यार्सागुम्बामा लगानीको प्रलोभनमा पारी ३६ लाख ठग्ने पक्राउ

बुधबार, १७ बैशाख, २०८२
डिजिटल संस्करण

यार्सागुम्बा व्यवसायमा लगानी गर्ने प्रलोभनमा पारी ३६ लाख ठगी गर्ने जाजरकोट नलगाड नपा–७ दल्लीका ४१ वर्षीय दीपेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई १५ वैशाखमा ठमेलस्थित दोहोरी साँझबाट पक्राउ गरेको हो ।

उनले आफू पूर्वप्रहरी भएको र अमेरिकाबाट भर्खरै फर्किएको भन्दै यार्सागुम्बा व्यवसायमा लगानी गर्न सार्वसाधारणलाई प्रलोभन बाँड्ने गर्थे । मनग्य नाफा हुने भनेपछि उनलाई पीडितले ३६ लाख दुई हजार १६६ रुपैयाँ दिएको थिए ।

रकम लिएपछि उनी फरार भएका थिए । प्रहरीका अनुसार उनी पटके ठग हुन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख रुपैयाँ ठगीको मुद्दा दर्ता रहेको छ ।

त्यस्तै, नेपाल प्रहरीमा भर्ती गरिदिने प्रलोभनमा युवाबाट १० लाख उठाएका थिए । पीडितले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता गरेका छन् । नेपाली सेनामा भर्ती गरिदिने प्रलोभनमा पनि उनले पीडितबाट चार लाख असुलेका थिए । 

सुझावित समाचार