शिविरमै पठाइयो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थी

शनिबार, १३ बैशाख, २०८२
डिजिटल संस्करण
शिविरमै पठाइयो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थी

रिहा भएकालाई आफन्तको जिम्मा लगाइँदै

सर्वाेच्च अदालतको आदेशपछि चार भुटानी शरणार्थीलाई अध्यागमन कार्यालय काँकडभिट्टाले शिविरिमै पठाएको छ । अमेरिकाबाट निष्कासनमा परेपछि भुटान हुँदै नेपाल पुगेर पक्राउ परेका आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरुङलाई थुनामुक्त गरी शुक्रबार राति दमकस्थित भुटानी शरणार्थी शिविरमा पठाइएको हो । तीमध्ये तीनजना दमकस्थित बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविर र गुरुङ पथरी–शनिश्चरेमा रहेको शिविरमा बस्नेछन् । 

बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वाेच्चले बिहीबार मात्र थुनामुक्त गरी ६० दिनभित्र मुद्दा सक्न पनि भनेको थियो । चारजनालाई आफन्तको जिम्मा लगाए पनि शिविरमा नजरबन्दजस्तै छन् । शिविर रहेको स्थानीय तह अर्थात् बेलडाँगीमा बस्ने तीनजनाले दमक नगरपालिका र शनिश्चरे शिविरमा बस्ने गुरुङले पथरी–शनिश्चरे नगरपालिका छाडेर जान नमिल्ने सर्तसहित रिहा गरिएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताए । उनीहरूले हरेक सात दिनमा नजिकैको प्रहरी कार्यालयमा गएर हाजिरी गर्नुपर्नेछ । ‘सर्वोच्च अदालतको आदेश र विभागको पत्रअनुसार बुझाएका छौँ,’ उनले भने, ‘विभागले नै पत्रमा सर्तहरू उल्लेख गरेको छ । त्यो पालना गर्नुपर्छ ।’

रिहा भएपछि पक्राउ परेकामध्येका आशिष सुवेदीले हिरासतको कठिन दिनहरूभन्दा आफन्तसँग बस्न पाउँदा खुसी भएको बताए । ‘हामीले न्याय पाएका छौँ । यसले हाम्रो मुहारमा खुसी ल्याएको छ । नेपालमा मानव अधिकार रहेछ भन्ने देखाएको छ,’ उनले भने, ‘हामी अमेरिकाबाट दशजना आएका थियौँ । अहिले चारजना छौँ । अरू भुटानको पारोसम्म सँगै थियौँ । बाँकी कहाँ जानुभयो हामीलाई थाहा छैन ।’

तर, अध्यागमन कार्यालयले चारजनालाई रिहा गरे पनि यसले थप अन्योल सिर्जना गरेको भुटानी शरणार्थी बस्ती व्यवस्थापन समिति बेलडाँगीका सचिव सञ्चहाङ सुब्बा बताउँछन् । ‘चारजना रिहा हुनुभयो । तर, अब के गर्ने भन्ने केही टुंगो छैन । उहाँहरू अहिले पनि राज्यविहीन हो । उहाँहरूले बस्न पाए पनि उहाँहरूको परिचयचाहिँ के हुन्छ ? यसले हामीलाई चिन्ता थपेको छ,’ सुब्बाले भने । 

नेपालबाट अमेरिका पुनर्वास भएका, तर विभिन्न अपराधमा संलग्न रहेको भन्दै अमेरिकाले २५ मार्चमा भुटान नै पठाइदिएको थियो । भुटानले बाटो खर्च दिएर नेपाल पठाएको थियो । अवैध रूपमा नेपाल प्रवेश गरेपछि १६ चैतमा इलाका प्रहरी कार्यालय दमकले तीनजनालाई पक्राउ गरेर अध्यागमन कार्यालय काँकडभिट्टाको जिम्मा लगाएको थियो । 

सुझावित समाचार