सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, म्यासेन्जर, इन्स्टाग्रामलगायतका प्लाटफर्मको माउ कम्पनी ‘मेटा’लाई सात दिनभित्र सूचीकृत नभए बन्द गर्ने चेतावनी दिएका छन्।
आज शुक्रबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तर्क्रियामा मन्त्री गुरुङले मेटालाई तीनपटकसम्म सूचीकृत हुन पत्राचार गर्दासमेत बेवास्ता गरेको उल्लेख गर्दै हप्ता दिनभित्र सूचीकृत नभए बन्द गर्ने चेतावनी दिएका हुन्। जुन देशमा व्यवसाय गर्याे त्यही देशको कानुन पालना गर्दिनँ भन्नु मेटाको अपमानजनक प्रवृत्ति भएको उनको भनाइ थियो।
‘नेपालमा बसेर व्यवसाय गर्ने अनि त्यही देशको नियमअनुसार दर्ता प्रक्रिया मान्नुपर्दैन ?,’ उनले भने, ‘एक हप्ताभित्र दर्ता भए हुन्छ, नभए बन्द गर्छौँ।’ मन्त्रालयका सचिवस्तरबाट मेटाका अधिकारीबिच छलफल गरेर सम्पर्क केन्द्र तोक्न ताकेता भइरहेकोसमेत उनले जानकारी दिए।
यसअघि टिकटक, भाइबरलगायत सामाजिक सञ्जाल प्लाटफर्म मन्त्रालयमा सूचीकृत भइसकेका छन्। यसका साथै अन्य सामाजिक सञ्जाल प्लाटफर्मलाई मन्त्रालयमा सूचीकृत हुन मन्त्री गुरुङले अनुरोध गरे। सामाजिक सञ्जाल व्यवस्थित गर्न, समाजप्रति उत्तरदायी र जवाफदेही बनाउन सूचीकरण अनिवार्य रहेको उनको भनाइ थियो।
कार्यक्रममा मन्त्री गुरुङले संसदमा पास हुने क्रममा रहेको सामाजिक सञ्जालसम्बन्धी विधेयकको अनिवार्यता र महत्त्वबारे प्रस्ट पारे। स्वतन्त्रताका नाममा मुलुकको सामाजिक सदभाव बिथोल्ने, अपराधजन्य गतिविधिलाई बढावा दिने, व्यक्तिगत जीवनमा दख्खल दिने, राष्ट्रिय अखण्डता र स्वाधीनतामा प्रहार गर्नेजस्ता क्रियाकलापको नियमन गर्नका लागि सामाजिक सञ्जाल विधेयक आउन जरुरी रहेको उनले बताए।