नेपालगन्जमा सुनिए कवि महेश पौड्याल

मंगलबार, ९ बैशाख, २०८२
डिजिटल संस्करण

जमिन नछोड सोल्टी,
टेक्ने ठाउँ चाहिन्छ। 
प्वाँख छन् भन्दैमा कहाँ आकाशमा बास बस्छन् र चराहरू
बादल पनि त घर फर्कन्छ, बर्सात् बनेर।
जमिन नछोड सोल्टी,
टेक्ने ठाउँ चाहिन्छ।

कवि महेश पौड्यालले ‘जमिन’ शीर्षकको यो कविता सुनाउँदा नेपालगन्जको अलाइड कलेजको हलमा उपस्थित दर्शकहरूको तालीले उनको स्वर मधुरो सुनियो।

आफू समालोचक भएर उभिएपछि कसै न कसैले गाली गरे पनि कविता सुनाएपछि त्यसको क्षतिपूर्ति हुने गरेको बताए। उनले नेपालगन्ज स्वादको सहर पनि भएको बताउँदै ‘नाम’ शीर्षकको कवितावाचन गरे।

आफैँले बनाएँ यो सहर
आफैँले ध्वस्त पारेँ।

खरानीको यस रासमाथि
कतै मेरो नाउँ लेखिएको अवशेष बाँकी छ कि
अहिले म त्यसैको खोजीमा छु।

कवि पौड्यालले सुनाएका प्रत्येक कवितामा तालीको रौनकले उनलाई थप कवितामा वाचन गरुँ गरुँ लाग्दै गएकोसमेत बताएँ।

आइतबार नेपालगन्जको अलाइड कलेजमा आयोजना गरिएको कवि महेश पौड्यालको एकल कवितावाचन तथा विमर्श कार्यक्रम उनले डेढ दर्जनभन्दा बढी आफ्ना लामा, छोटा कवितावाचन गरे। त्यसमा उनले हालको समसामयिक, देश प्रेम, सीमाना, माया पिरतीलगायतका विविध विषयका कविता सुनाए।

कवितामा नयाँ पुस्तालाई जोड्ने अभियानलाई निरन्तरता दिन कवितावाचनको कार्यक्रम गरिएको कवि कपिल अन्जानले बताए। उनले समग्र पश्चिम क्षेत्रमा नयाँ पुस्ताका अनुहार कम देखिन थालेपछि यस्ता कार्यक्रम आयोजना गरिएको पनि बताए।

कार्यक्रम साहित्यकार प्रा.डा.कृष्णप्रसाद घिमिरेले प्राविधिक शिक्षा पढेकालाई पनि साहित्यमा समेट्ने यो प्रयासमा कवि महेश पौड्याल जोडिनुले पनि अर्थ राख्ने बताए। त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि एवं कलेजका संस्थापक डा. रेवती सिंहले यो कार्यक्रमले आगामी दिनमा साहित्यमा अग्रसर हुने अध्ययनरत विद्यार्थीहरूलाई हौसला दिने बताइन्। उनले यस्ता रचनात्मक कार्य गर्नका लागि आफ्नो कलेज तयार रहेको पनि बताइन्।

अलाइड कलेजका प्रिन्सिपल शिशिर सापकोटाले कलेजमा यस्ता खालका कार्यक्रम आयोजना गर्नाले साहित्यको विकास सँगसँगै  विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई पनि हौसला थपिने बताए।

सकेसम्म नेपाली साहित्यलाई साहित्य लेखनमा लागेका व्यक्तिभन्दा बाहिर जरुरी ठानेर यो अब स्कुल, कलेज र सार्वजनिक ठाउँ गर्न सहकार्य गर्दै जाने कवि डा. देवेन्द्र आचार्यले बताए। साथै, उनले कवि पौड्यालको हार-जित शीर्षकको कविताले भनेजस्तै सगरमाथामाथि अर्जुनदृष्टि दागेर अघि बढ्नेहरू जहिल्यै विजयी भएको पनि बताए।

कार्यक्रममा कविहरू मणि अर्याल, चन्द्रावती अधिकारी, विपि अस्तु, खेम बगर, प्रवेश शाह, बिना रोकालगायत २०० भन्दा बढी विद्यार्थीलगायतको उपस्थिति रहेको थियो।

सुझावित समाचार