राजनीतिक विश्लेषक राजेन्द्र महर्जनलाई ३ प्रश्न

मंगलबार, ९ बैशाख, २०८२
डिजिटल संस्करण

स्थापनाको ७५ वर्षपछि आइपुग्दा कम्युनिस्ट पार्टीहरू स्थापनाकालीन मूल्य, मान्यताबाट टाढा वा नजिक कता छन् ? 
कम्युनिस्ट विचार र सिद्धान्तबाट प्रतिबद्ध पुष्पलाल र उहाँको टिमको सपनाबाट आजको कम्युनिस्ट नामधारी दलहरू धेरै टाढा पुगिसकेका छन् । कम्युनिस्ट नीति, सिद्धान्त, विचार र कार्यदिशाबाट टाढिएपछि ‘कम्युनिस्ट’ नामको ‘साइन बोर्ड’ र ‘ट्रेड मार्क’ मात्र बाँकी रहन्छन् । त्यसैले, अहिलेका कम्युनिस्ट नामधारी पार्टीहरूमा कम्युनिस्ट सिद्धान्त र आचरण शून्य छ । कम्युनिस्ट मूल्य, मान्यता र आचारण नै बाँकी नरहेपछि दलहरू स्थापनाकालीन सपनासित नजिक हुने सम्भावना पनि बाँकी रहँदैन । 

सिद्धान्त, विचार, नीति, कार्यदिशा आदि एउटै भएर पनि कम्युनिस्ट पार्टीलाई जुट्नभन्दा फुट्न किन सजिलो भएको होला ?
समूहमा विश्वास गर्ने कम्युनिस्टहरूले सामूहिक नेतृत्व स्थापित गर्छन् भन्ने मानिन्छ । तर, कम्युनिस्ट पार्टीहरूको नेतृत्व तहमा पुग्ने नेताहरूले बिस्तारै सामूहिक नेतृत्व समाप्त गरी एकल नेतृत्व स्थापित गर्दै जान्छन् । यसले पार्टीभित्र टुटफुटलाई मलजल गर्छ । कम्युनिस्ट साइन बोर्ड राखेर पनि नेतृत्वमा पुँजीवादी चरित्र हाबी हुँदै गएपछि पार्टीहरूलाई जुट्नभन्दा फुट्नै सजिलो हुने गरेको देखिन्छ । 

छरिएका कम्युनिस्ट घटकबीच एकताको सम्भावना कति छ ? 
कम्युनिस्ट नाममा अलगअलग साइनबोर्ड झुन्ड्याएर खुद्रे पसल थापेर आआफ्नै डम्फु बजाउने बानी परेका नेतृत्वले एकता र सहकार्यको सम्भावनालाई झनै टाढा पु¥याउँछन् । त्यसैले, अहिलेका कम्युनिस्ट नामधारी अलगअलग दलहरूमा थोरै मात्र पनि वामपन्थ बाँकी छ भने यिनले न्यूनतम रूपमा केही जनमुखी काम गरिदिए र लोकतन्त्रमाथि भइरहेका अनेकथरीका आक्रमणविरुद्ध सामूहिक रूपमा प्रतिवाद गरिदिए भने त्यसैलाई नै ठुलो उपलब्धि मान्नुपर्ने अवस्था छ । 
 

सुझावित समाचार