भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायलाई ३ प्रश्न

आइतबार, २३ चैत, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिचको एक्लाएक्लै भेटवार्ताले के संकेत गरेको छ ?
यस्ता भेटवार्तालाई कूटनीतिमा सकारात्मक नै मानिन्छ । तर, भेटवार्तामा के कुरा भयो भन्ने प्रस्ट छैन । हामीकहाँ त्यस्तो भेटघाटका विषय खुलस्त गर्ने अभ्यास नै छैन । दुवै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा सकारात्मक टिप्पणी गरे पनि यसको प्रभाव यस्तै हुन्छ भन्न सकिन्न । भेटवार्तामा भएका कुराकानीलाई कार्यान्वयन तहमा पनि लगियो भने मात्र त्यसको अर्थ हुन्छ । भेटमा अन्य कसैलाई नराखी गरिएको संवादले परिणाम देला भनेर आशावादी हुन कठिन छ । ‘नोट टेकर’लाई समेत नराखी गरिएको यस्तो भेटघाट अवसर र घातक दुवै बन्न सक्छ । 

यस भेटले पछिल्लो समय चिसिएजस्तो देखिएको नेपाल–भारत सम्बन्धमा ‘आइस ब्रेक’ गरेको हो ? 
कूटनीतिमा यस्तो भेटघाटपछि ‘आइस बे्रक’ भएको, सम्बन्ध सुधार भएको जस्ता हल्ला गरिन्छन् । तर, त्यस्तो सुधार परिणाममा नै देखिनुपर्छ । सामाजिक सञ्जालमा लेखेर मात्र त कसरी आइस ब्रेक होला र ? अहिले पनि पनि नेपालका प्रधानमन्त्रीले हिन्दी भाषामा र भारतका प्रधानमन्त्रीले नेपाली भाषामा सामाजिक सञ्जालमा गरेको टिप्पणीकै भरमा केही भन्न सकिन्न ।

यसबाट दुई देशबिचको सम्बन्ध सुधारमा कति आशावादी बन्न सकिन्छ ? 
आशावादी त दुवै पक्ष हुनैपर्छ । एक हातले मात्र ताली बज्दैन । सम्बन्ध सुधारका लागि दुवैतिरबाट सकारात्मक पहल हुनुपर्छ । भूगोल बदलेर नयाँ छिमेकी ल्याउन सकिन्न । त्यसैले, दुई देशबिचको सम्बन्ध प्रगाढ बनाउनुको विकल्प हुँदैन । सानातिना विषय उचालेर विवाद बढाउनु कसैको पनि हितमा हुँदैन । द्विपक्षीय सम्बन्धलाई सुदृढ गराउन दृढता, निरन्तरता र प्राथमिकता तय हुनुपर्छ । साथै, राष्ट्रिय एजेन्डा पनि परिभाषित हुनुपर्छ । 

सुझावित समाचार