नेपालगन्ज रंगशालाको पौडीपोखरी सर्वसाधारणका लागि खुला

बुधबार, १९ चैत, २०८१
डिजिटल संस्करण

नेपालगन्ज रंगशालास्थित पौडीपोखरी सर्वसाधारणका लागि खुला गरिएको छ। बाँकेमा गर्मी बढेसँगै सर्वसाधारणका लागि पौडीपोखरी खुला गरिएको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका प्रमुख महेश चन्दले जानकारी दिए । उनले सरसफाइ र आवश्यक जनशक्तिको व्यवस्थापन गरी १५ चैतदेखि पौडी खेल्न चाहने सर्वसाधारणका लागि पौडीपोखरी खुला गरिएको बताए। नेपालगन्ज रंगशालास्थित पौडीपोखरी ललितपुरपछिको दाेस्रो भएको दाबी गरिएको छ । उनले भने, ‘गर्मी बढेसँगै पौडीपोखरीलाई मर्मत र सरसफाइ गरी सबैका लागि खुला गरिएको छ ।’ 

उनले पौडी पोखरी प्रयोगका लागि शुल्क निर्धारण गरिएको बताए । उनले सर्वसाधारणका लागि प्रतिसिफ्ट दुई सय रुपैयाँ र विद्यार्थीका लागि प्रतिसिफ्ट एक सय रुपैयाँ शुल्क निर्धारण गरेको कार्यालय प्रमुख चन्दले बताए । उनले मासिक, अर्धवार्षिक र वार्षिक सदस्यता शुल्कसमेत निर्धारण गरिएको बताए । ‘आफ्नै स्विमिङ कस्टम ल्याएमा दुई सय र रंगशालाको कस्टम प्रयोग गरे थप ५० रुपैयाँ शुल्क लिँदै आएका छौँ । एक साथ १० जनाको समूह बनाएर आए एकजनाको शुल्क नलाग्ने नियम छ,’ कार्यालय प्रमुख चन्दले भने । 

समितिले स्पेसल र सदस्य समूहका लागि छुट्टाछुट्टै सिफ्ट बनाएको छ । स्पेसल र सदस्य समूहका लागि बिहान ८–१० बजे र स्पेसल ग्रुपका लागि बेलुकी ४ः३०–६ः३० बजेको समय निर्धारण गरिएको उनले बताए । ‘बिहान ८ बजेदेखि पौडीपोखरी खुल्छ । दिनभर सञ्चालन भए पनि स्पेसल र सदस्यका लागि निश्चित समय निर्धारण गरिएको छ,’ उनले भने । 

पौडीपोखरी पुल सञ्चालनका लागि प्रशिक्षक र जीवन रक्षकको समेत व्यवस्था गरिएको उनले बताए । ‘स्विमिङ गर्नेहरूले अनिवार्य रूपमा स्विमिङ कस्टम लगाउनुपर्ने नियम बनाइएको छ,’ उनले भने । उनले गत वर्षभन्दा यस वर्ष अझ व्यवस्थित बनाइएको जिकिर गरे । एक साथ १५० जनाले स्विमिङ गर्न सकिने यो पौडीपोखरीमा महिला र पुरुषका लागि छुट्टाछुट्टै क्षेत्र निर्धारण गरिएको छ । ‘पौडी खेल्नेको सुरक्षाका लागि सम्पूर्ण व्यवस्था मिलाइएको छ,’ चन्दले भने । 
 

सुझावित समाचार