शुक्रबारको प्रदर्शनले सांसदहरूलाई संसद् भवन पुग्न अप्ठ्यारो भएको छ । संघीय संसद्को दुवै सभाको बैठक बस्दै छ । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन ।
राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे राखिएको छ । प्रदर्शनका कारण काठमाडौंको सवारी प्रभावित भएको छ । यसले सांसदहरू पनि प्रभावित भएका हुन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् । प्रधानमन्त्रीको जवाफ नपाएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ । आजै बिहान सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर, निकास निस्किएको छैन । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा आज विधेयकहरू अगाडि बढाउने कार्यसूची छ ।