गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने भन्दै जिल्लाको कालीमाटी गाउँपालिकाले कृषकलाई कृषियन्त्र वितरण गरेको छ । सातवटै वडाका समूहमा आबद्ध किसान, सहकारी र कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा २४ थान मिनीटिलर वितरण गरेको छ । खेतबारी जोत्नका लागि किसानले गोरु, राँगा पाल्न छाड्दै गएकाले खेतबारी बाँझो हुने अवस्था आउन नदिन पालिकाले मिनीटिलर वितरण गरेको कालीमाटी गाउँपालिकाले जनाएको छ ।
कृषिलाई प्रविधिसँग जोड्न पालिकाले ५० प्रतिशत अनुदानमा १५ लाख ६० हजार रकमबराबरको मिनीटिलर वितरण गरेको गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए। समूहमा, फर्म र सहकारीमा आबद्ध किसानले सात लाख ८० हजार व्यहोरेका छन् ।
मिनीटिलर समूह तथा सहकारीमा आबद्ध किसान सबैले आवश्यकताअनुसार पालैपालो प्रयोग गर्न सक्नेछन् । मिनीटिलरबाट पालिकाका सयभन्दा बढी किसान लाभान्वित हुने कृषि विकास शाखा प्रमुख दीपिका खड्काले बताइन्। किसानहरूको मागअनुसार नै मिनीटिलर वितरण गरिएको उनको भनाइ छ । गोरूले भन्दा मिनीटिलरले जोत्न सहज मात्र नभई छिटो हुने भएकाले यसको माग बढिरहेको उनको भनाइ छ । कृषिमा प्रविधिको प्रयोग नगरी उत्पादन वृद्धि सम्भव नभएको बताउँदै अनुदान कार्यक्रमले कृषकहरूलाई व्यवसायिक कृषितर्फ टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।