जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. भुवन पौडेललाई ३ प्रश्न

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

नेपालमा क्षयरोगको अवस्था कस्तो छ ? 
नेपालमा क्षयरोगको अवस्था निकै डरलाग्दो छ । यदि अहिले नै गम्भीर भएर यसतर्फ चासो नदिने हो भने कुनै समय नेपालमा यसले विकराल रूप लिन सक्छ । राज्यका संरचना र आमनागरिक तहदेखि नै यसमा एकजुट भएर लाग्न जरुरी छ । क्षयरोग अहिलेकै अवस्थामा जसरी फैलन नदिन यससँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ । त्यस्तै, राजनीतिक दलहरूमा पनि यो रोग कम गर्नका लागि सामूहिक प्रतिबद्धता आवश्यक छ । तीन तहका सरकार मिलेर निदानात्मक कार्यलाई व्यापक बनाउनुपर्छ । यसको उपचार तथा जाँचमा प्रयोग हुने अत्याधुनिक उपकरण पनि प्रयोगमा ल्याउनुपर्छ । सबै मिलेर दुई चार वर्ष मिहिनेत गर्ने हो भने क्षयरोगको ‘चेन ब्रेक’ गर्न सकिन्छ । 

नेपालमा उपचारको पहुँचबाहिर रहेका क्षयरोगीको संख्या धेरै देखिनुमा कमी कमजोरी कसको हो ? 
कमी कमजोरी सेवा प्रदायकको पनि हो । किनभने, हामी सेवा प्रदायक पनि कतिपय ठाउँमा पुग्न सकेका छैनौँ । अर्को कुरा आममानिसमा जनचेतनाको पनि कमी छ । त्योभन्दा ठुलो त उपचारको दायरामा ल्याउन नसक्नु नै हो जस्तो लाग्छ । क्षयरोगका बिरामीको खोजी कार्यमा अझ बढी ध्यान दिनुपर्छ । तर, त्यसका लागि आवश्यक स्रोत साधनको भने उपलब्धता हुनुपर्छ ।

क्षयरोग फैलिन नदिन सरोकारवालाहरूले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?
मुख्यतः राज्यका निकायले लुकेर बसेका क्षयरोगीको खोजी गर्नुपर्छ । आमनागरिकले पनि कसैप्रति शंका लागेमा वा आफूमा क्षयरोगका लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराउने बानी बसाल्नुपर्छ । क्षयरोग लागेमा लुकेर होइन, खुलेर उपचारमा आउन सक्नुपर्छ । स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्छ । पोषणयुक्त खानेकुरा खानुपर्छ । 
 

सुझावित समाचार