सांग्रिला प्लाई उद्योगमा आइतबार सबै कर्मचारीको तलब बुझ्ने दिन । त्यही दिन तलब बुझ्ने र बिदामा बस्ने गर्थे । सधैँ यसरी नै आइतबार बिदा हुन्छ । उद्योगमा कर्मचारी कोही थिएनन्। त्यही वेला भयो– दाङको घोराही उपमहानगरपालिका– ९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी । आइतबार बिहान १ बजेतिर आगलागी भएको हो । तर, त्यो आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सोही उद्योगमा पाँच सयभन्दा बढी कर्मचारीले काम गर्छन् ।
बिहान ११ बजेसम्म पनि आगलागी नियन्त्रणमा आउन नसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीले बताए । उनका अनुसार हाल सातवटा दमकलले आगो निभाइरहेको छ । तैपनि नियन्त्रणमा आउन सकेको छैन ।
दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने क्रम जारी छ ।
प्लाईका धेरै सामग्रीहरू भएकाले आगो निभाउन ढिलाइ भएको उनको भनाइ छ । ‘प्लाईका धेरै सामग्री छन्, आगो बलिरहेको छ,’ उनले भने, ‘अझै समय लाग्ने देखिन्छ ।’ आसपासमा बस्ती भए पनि त्यो बस्तीका लागि जोखिम भने नभएको उनले बताए । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । तर, अझै पनि क्षतिको विवरण आइपुगेको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सुरक्षा निकाय, स्थानीयलगायतले आगो नियन्त्रण गरिरहेका छन् ।