२०६५ पछि पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन

आइतबार, ९ चैत, २०८१
डिजिटल संस्करण

देशभरका क्याम्पसहरूमध्ये सबैभन्दा धेरै विद्यार्थीहरू अध्ययन गर्ने क्याम्पसको रूपमा रहेको पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा ०६५ पछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ ।

यसअघि ५ चैतका लागि तय भएको निर्वाचनमा समानुपातिकतर्फको मतपत्रमा अखिल छैटौँको चुनाव चिह्न छुटेका कारण रोकिएको थियो । त्यसपछि ६ चैतका लागि निर्वाचन तय भएको थियो । ६ गतेका लागि निर्वाचन तग भएकोमा संयुक्त प्यानलसहित अखिल छैटाैँ र नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि पुनः दोस्रोपटक निर्वाचन रोकिएको थियो ।

दोस्रोपटक निर्वाचन रोकिएपछि ७ चैतमा बसेको स्ववियु निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विभिन्न संघ, संगठन र स्वतन्त्र उम्मेदवारहरूबिच भएको सर्वपक्षीय बैठकले आज १० चैतमा निर्वाचन गर्ने निर्णय गरेका थिए । सोहीअनुसार आज निर्वाचन भएको हो ।

क्याम्पसमा नौ हजार २७० जना मतदाता रहेका छन् भने स्ववियु सभापतिका लागि आठजना प्रतिस्पर्धामा छन् ।  पृथ्वीनारायण सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पसको रूपमा चिनिन्छ । हाल क्याम्पसमा १२ हजार पाँच सय विद्यार्थी अध्ययरत छन् । विद्यार्थी संख्यासँगै त्रिविअन्तर्गत देशकै ठुलो आंगिक क्याम्पसको रूपमा समेत रहेको पृथ्वीनारायणमा ०६५ पछि स्ववियु निर्वाचन हुन सकेको छैन । विवादका कारण यसअघि ०७३ र ०७९ सालमा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको हो ।

०७३ सालमा विद्यार्थी संगठनहरूबिचको विवादका कारण र ०७९ सालमा उम्मेदवार र निर्वाचनको विषयलाई लिएर अदालतसँगै निर्वाचन समितिमा परेको उजुरी एवं विवादका कारण निर्वाचन हुन नसकेको हो ।
 

सुझावित समाचार