आँखाले देख्न नसक्ने डाक्नेश्वरी नगरपालिका– ९ पथरगाडाकी सञ्जनाकुमारी शर्मा आइतबारदेखि सुरु भएको एसइईमा सहभागी भएकी छिन् । उनको सपना शिक्षक बन्नेछ ।
आँखाले देख्न नसक्ने उनी यसपालि एसइई परिक्षा दिइरहँदा उनीसँग भएको कुराकानीमा उनले आफ्नो इच्छा सुनाइन् । उनी राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा अध्यनरत छिन् । शिक्षक बन्ने सपना भए पनि उनको आफ्नो पहुँच नरहेको दुःखेसो छ। बुबा विदेशमा रहेकोले परिवारमा उनी आमासँगै बस्ने गरेकी छिन्।
यहाँको समाजले के भन्ला भन्ने डरले घरबाट बाहिर निस्किन नदिने गरेको उनी सुनाउँछिन्। उनी आफ्नो अध्ययनका लागि राजविराजमै होस्टेलमा बस्छिन् । फरक क्षमता भए पनि शिक्षकको सपना बोकेकी उनी संघर्ष गर्दै बढिरहेकी छिन।फरक क्षमता भएकाका लागि परीक्षामा गरिएको प्रबन्धअनुसार उनी परीक्षा दिइरहेकी छिन् ।
सप्तरीबाट चार फरक क्षमताका विद्यार्थी सहभागी
एसइईमा सप्तरीबाट चारजना फरक क्षमताका विद्यार्थी सहभागी छन्। चार केन्द्रमा तीन छात्र र एक छात्रा सहभागी छन्। कोशी अनिरुद्ध माध्यमिक विद्यालयमा सञ्जना शर्मा परीक्षा दिइरहेकी छिन्। उनी आँखा देख्दिनन् । पकरी गोठ माध्यमिक विद्यालयबाट सहभागी जितेन्द्र मण्डलको पनि त्यही अवस्था छ।
त्यस्तै, इटहरी विष्णुपुर केन्द्रमा सहभागी शिवम यादवको मानसिक सन्तुलन बिग्रेको र हातको औँलाले काम गर्दैनन्। भगवतपुर बरहारी माध्यमिक विद्यालय केन्द्रमा परीक्षा दिइरहेका धनेन्द्र यादवको दुवै हात चल्दैनन्। उनलाई नशा सम्बन्धित समस्या छ ।
शिक्षा समन्वय एकाइ सप्तरीका प्रमुख शशिकुमार यादवका अनुसार उनीहरूलाई कानुनबमोजिम सहयोगी दिइएको छ। दशभन्दा कम कक्षामा अध्ययनरत विद्यार्थीको सहयोगले उनीहरूले परीक्षा दिइरहेका छन् ।