योगेशमाथि मनीषले उठाए स्वार्थको द्वन्द्वको प्रश्न

पूर्वपर्यटनमन्त्री भएकाले गौतमबुद्ध विमानस्थलको निर्माण सम्बन्धी छानबिन उपसमिति संयोजक बस्न नमिल्ने जिकिर

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

रास्वपा सांसद मनीष झाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन उपसमितिको नेतृत्वमाथि प्रश्न उठाएका छन् । सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा उनले उपसमिति संयोजकमा पूर्वपर्यटनमन्त्री योगेश भट्टराई हुँदा स्वार्थ बाझिने भन्दै प्रश्न उठाएका हुन् । 

भैरहवा विमानस्थलको पूर्वाधारमा अनियमितता भएको र सञ्चालनमा असहज भएको गुनासोपछि लेखा समितिले गत २७ जेठमा सर्वसम्मत रूपमा भट्टराईलाई संयोजक तोकेको थियो । झा पनि उपसमितिका सदस्य छन् । प्रश्न उठाउँदा उनले लेखा समितिले बनाएको मापदण्डको सैद्धान्तिक आधारलाई टेकेका छन् । उनका अनुसार समितिले कुनै मन्त्रालयको जिम्मेवारी सम्हालिसकेको व्यक्तिलाई उक्त मन्त्रालयसँग सम्बन्धित बेरुजु फस्र्योट उपसमिति वा अन्य उपसमितिमा सदस्य नराख्ने निर्णय गरेको थियो । जस्तो, सञ्चारमन्त्री भइसकेका गोकुल बाँस्कोटालाई सञ्चार मन्त्रालयसँग सम्बन्धित उपसमितिमा राखिएको छैन ।

तर, पर्यटनमन्त्री भइसकेका भट्टराईलाई सोही मन्त्रालयअन्तर्गत पर्ने गौतमबुद्ध विमानस्थलको छानबिन गर्ने उपसमितिको संयोजक नै बनाएपछि स्वार्थको द्वन्द्वसँग जोडेर नैतिक प्रश्न उठेको हो । भट्टराई विमानस्थल निर्माण हुने वेला १५ महिना पर्यटनमन्त्री थिए । ‘योगेश भट्टराईको कार्यक्षमतामा प्रश्न होइन । विगतमा नौवटा उपसमिति बनाउँदा जुन सिद्धान्त अवलम्बन गरिएको थियो, त्यो यसमा किन कार्यान्वयन गरिएन भन्ने मेरो प्रश्न हो,’ सांसद झाले भने, ‘भविष्यमा प्रतिवेदन विवादरहित बनाउन यो विषय उठाएको हुँ ।’

झाले यो विषय ढिलो गरी भन्नु आफ्नो कमजोरी भएको र भट्टराईलाई संयोजक बनाउने निर्णय हुँदा आफू अनुपस्थित रहेको बताए । सांसद झाले प्रश्न उठाएपछि उपसमिति संयोजक भट्टराईले समिति बैठकमै आफू उपसमितिमा बस्दा अप्ठेरो पर्ने स्थिति रहे राजीनामा दिन तयार रहेको बताए । ‘मेरो कुनै इन्ट्रेस्ट छैन । फुल समितिले मलाई अख्तियारी दिएकाले मैले समितिको आग्रहलाई स्विकारेको मात्रै हो । मलाई संयोजक चाहिन्छ भन्ने कुनै माग पनि छैन । मेरो ध्यान पनि होइन । को बनाउने भन्नुस्,’ भट्टराईले समितिमा भनेका थिए । 

लेखा समिति सभापति ऋषिकेश पोखरेलले भट्टराई उपसमितिको संयोजक सिंगो समिति बैठकले बनाएको बताए । ‘प्रस्ताव गर्दा के गरौँ भनेर हलमा सोधियो । सबै साथीहरूले तलबाट गरौँ भनेपछि गरेको हो । अब को के पदमा भन्दा परिणाम के आएको छ भन्ने मुख्य कुरा हो,’ उनले भने । सभापति पोखरेलले यस विषयमा पहिले नै सूचना नपाएको र ख्याल नगरिएको बताए ।  

सुझावित समाचार