विपी कोइराला मेमेरियल अस्पताल चितवनकी लेखा अधिकृतले औषधि आपूर्तिको भुक्तानी गर्न घुस लिएको पुष्टि गर्दै विशेष अदालतले डेढ वर्ष कैद तथा जरिवानाको फैसला गरेको छ । विशेषका अनुसार कोइरालालाई एक वर्ष ६ महिना कैद र ६ लाख रुपैयाँ जरिवाना तोकिएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह रार्य र रामबहादुर थापाको इजलासले यस मुद्दामा फैसला गरेको हो ।
लेखा अधिकृत अमृता कोइरालाले औषधि आपूर्ति बिल भुक्तानी दिए वापत सेवाग्राहीसँग घुस मागेको सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोली परिचालित भएको थियो । कोइरालाले सेवाग्राहीसँग एक लाख ५० हजार नगद र चार लाख ५० हजार बराबरको चेक लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
आर्थिक वर्ष ०८०÷८१ मा अस्पतालमा औषधि सप्लाइ गरे वापत नियमअनुसार पाउनुपर्ने रकमका लागि उनले ६ लाख घुस माग गरेकी थिइन् । सेवाग्राही र कोइरालाबिच १७ पटक फोन सम्पर्क भएको देखिएको थियो । यसबाहेक घुस मागेको कुरा ह्वाटसेप मेजेस र फोन संवादबाट समेत पुष्टि भएपछि उनलाई सजाय सुनाइएको हो ।
घुस रकम उनकै स्कुटरबाट बरामद भएको थियो भने घुस लिएको अडियो भिडियो समेत अदालतमा पेस भएको थियो । अख्तियारले कोइरालाविरुद्ध गत ३१ साउनमा मुद्दा दर्ता गराएको थियो ।
कोइरालाले सेवाग्राहीसँग ०७९ जेठ र कात्तिकमा दुईपटक गरी एक लाख चार हजार रुपैयाँ सापट लिएकी थिइन् । तर उक्त रकम फिर्ता नगरेको समेत भेटिएको थियो । उनले उक्त रकम नतिरेको उजुरकर्ताको भनाइ थियो । व्यवसायीक आचरण विपरीत उक्त कार्य गरेकाले त्यसतर्फ पनि अख्तियारले सजाय माग गरेको थियो । यद्यपि यसमा भने मागदाबी नपुग्ने विशेषको फैसला छ ।
यस मुद्दामा सरकारी साक्षी रहेका नन्दलाल पौडेलले प्रतिकूल बकपत्र गरेको भनी विशेषमा उनीविरुद्ध गत ११ माघमा मुद्दा दर्ता भएको थियो । यद्यपि पौडेलले भने सफाइ पाएका छन् ।