प्रतिनिधिसभाकाे अर्थ समितिका सभापति सन्तोष चालिसेलाई ३ प्रश्न

आइतबार, २ चैत, २०८१
डिजिटल संस्करण

प्रिबजेट छलफल कति जरुरी हुन्छ ?
प्रिबजेट छलफल भयंकर जरुरी हुन्छ । यसमा छलफल नगरी सुखै छैन । माग भएअनुरूपका सबै कार्यक्रम बजेटमा अटाउन सक्दैनन् । अर्थ मन्त्रालयले हरेक मन्त्रालयका सरोकारवाला सबैलाई बजेटको सिलिङ तोकेर पठाइसकेको छ । अब यो विधेयक अधिवेशन अन्त्य  र बजेट अधिवेशन सुरु हुनुअघि यसमा प्रभावकारी रूपमा घनीभूत छलफल हुनेछ । 

यस्तो छलफललाई हामीकहाँ किन कर्मकाण्डी बनाउने गरिन्छ ?
यस्तो महत्वपूर्ण विषयमा हुने छलफललाई कर्मकाण्डी बनाउने भन्ने प्रश्नै उठ्दैन । झन् यतिखेर दुई ठुला दल सरकारमा छन् । आगामी बजेट र नीति तथा कार्यक्रमसित दुई ठुला दलको अस्तित्व जोडिएको छ । सानो चुकले पनि यिनको अस्तित्वमाथि प्रश्न उठ्न सक्छ । जनताका आकांक्षा धेरै छन् । तिनलाई सकेसम्म सम्बोधन गर्नकै लागि पनि प्रिबजेट छलफललाई प्रभावकारी बनाउनु जरुरी छ । तत्कालका लागि केही पर सरे पनि यो छलफल रोकिन्न र यसलाई कर्मकाण्डी होइन, प्रभावकारी बनाइनेछ । अबका दिनमा हुने यस्तो छलफलबाट आउने सल्लाह र सुझावलाई बजेट एवं नीति तथा कार्यक्रममा समेटेर सरकार अघि बढ्छ । 

यसलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ? 
यो बजेट अधिवेशनमा ३२ विधेयक पारित गर्नुपर्ने अवस्था छ । त्यसका लागि हामी ठेलमठेल रूपमा आआफ्ना गतिविधिमा व्यस्त छौँ । हरेक समितिमा विधेयकको चाङ छन् । मेरै नेतृत्वको समितिमा पनि ६ वटा विधेयक छलफलमा छन् । चारवटामा यसै साताभित्र छलफल सक्छौँ । यसले गर्दा कामको चाप अलि बढी नै छ । खाना खाने समयको तालमेल मिलाउनसमेत सकस भइरहेको छ । त्यसैले, प्रिबजेट छलफल ओझेलमा परेजस्तो देखिएको हो । तर, हामी आगामी दिनमा त्यसलाई प्रभावकारी बनाएरै अघि बढ्नेछौँ । 

सुझावित समाचार