पूर्वोत्तर भारतको असममा बस्दै आएका नेपाली साहित्यका ख्यातिप्राप्त स्रष्टा लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । शुक्रबार बिहान गुवाहाटीस्थित भूतनाथमा दुई छोरा पंकज र पल्लवले पार्थिव शरीरमा दागबत्ती दिएर उनको अन्तिम संस्कार गरिएको छ ।
क्षेत्री निबन्ध, नाटकलगायत विभिन्न साहित्यिक विधामा कलम चलाउने बहुप्रतिभाशाली लेखक थिए । उनका कृतिले नेपाली भाषा, संस्कृति र प्रवासी नेपाली समुदायका भावना झल्काउँछन् । उनी विशेष रूपमा ‘बसाइँ’ उपन्यासका लागि चर्चित थिए । उनको यो उपन्यासले नेपाली समाजको बसाइँसराइको पीडा, संघर्ष र अस्तित्वको खोजी सजीव रूपमा उजागर गरेको छ ।
उनको निधनको खबरले साहित्यिक तथा सामाजिक वृत्त शोकमग्न बनेको छ । श्रद्धाञ्जली अर्पण गर्न गुवाहाटीको नेहरू स्टेडियमछेउमा रहेको मरिखालीस्थित उनको निवासमा असम गोर्खा सम्मेलन, अखिल असम गोर्खा छात्र संघ र असम नेपाली साहित्य सभालगायत संघसंस्थाका प्रतिनिधि पुगेका थिए । भाजपा असम राज्यका उपाध्यक्ष अशोक भट्टराई, असम सरकारको गोर्खा विकास परिषद्का अध्यक्ष प्रेम तामाङ, उनका विद्यार्थी, छिमेकी तथा उनले अध्यापन गराएका कलेजका पदाधिकारीले उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
१ मार्च १९३३ मा गुवाहाटी टकौबारीको पुलिस रिजर्भमा उनको जन्म भएको थियो । ‘उहाँ कालीकोटे खड्का परिवारमा जन्मनुभएको थियो । अर्थात् उहाँको थर खड्का हो भन्ने कुरा धेरैलाई थाहा छैन,’ क्षेत्रीका आफन्तसमेत रहेका सिक्किमका पत्रकार प्रकाश अधिकारीले टेलिफोनमा भने, ‘उहाँका दुई श्रीमती, दुई छोरा–बुहारी र चारजना नाति–नातिना छन् । छोराहरूले काजकिरिया सुरु गरेका छन् ।’
बाल्यकाल सिलोङमा व्यतीत गरेका क्षेत्रीले नेपाली, अंग्रेजी र बंगाली माध्यममा अध्ययन गरेका थिए । गुवाहाटी विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उनले स्थानीय आर्यविद्यापीठ कलेजमा लामो समय अध्यापन गरेका थिए ।
विद्यालय जीवनदेखि नै साहित्य साधनामा लागेका उनको पहिलो कविता ‘शिवस्तुति’ १६ वर्षको उमेरमा प्रकाशित भएको उनका आफन्तसमेत रहेका साहित्यकार रुद्र बरालले बताए । उनले २४ वर्षको उमेरमा लेखेको ‘बसाइँ’ उपन्यास नेपाली साहित्यका पाठकमाझ अहिलेसम्म पनि लोकप्रिय छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन खण्डकाव्यपछि सर्वाधिक बिक्री भएको नेपाली कृति बसाइँ उपन्यास हो । उनले १९५७ मा बसाइँ लेखेका थिए । बसाइँ उपन्यास नेपालको पूर्वी पहाडबाट रोजगारीको खोजीमा पूर्वोत्तर भारत जानेका बारेमा लेखिएको थियो ।
उनले लेखेका अतृप्त, ब्रह्मपुत्रको छेउछाउ र प्रतिध्वनिहरू विस्मृति नामक तीन उपन्यास पनि निकै चर्चामा रहे । आख्यान विधामा उनका तीन दशक बिस अभिव्यक्ति, लीलबहादुरका कथाहरू र छरिएको बिस्कुन प्रकाशित छन् । असममा नेपाली भाषाको साहो–गाह्रो, पूर्वाञ्चल भारतीय नेपाली कथा–साहित्य र पत्रकारिताको इतिवृत, झ्याउरे पार्टीमा लाग्दा, पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन, सिमलको भुवा र अतीतका ऐनामा विविध झाँकीहरू नामक उनका निबन्ध प्रकाशित छन् ।
क्षत्रीले असमको नेपाली नाटक र एकांकीमा पनि योगदान दिएको साहित्यकार रुद्र बरालले बताए । उनी कलाकार तथा नाटक निर्देशकसमेत थिए । अल इन्डिया रेडियोको गुवाहाटी केन्द्रमा कार्यरत रहँदा उनले रेडियो रूपक, एकांकीदेखि पूर्णांक नाटकसम्म रचना गरेका थिए । उनले दोबाटो, माग र सुरुको सुरु नाटक लेखेका थिए । साहित्यकार गोविन्दराज भट्टराईको सम्पादनमा लीलबहादुर क्षत्रीका चर्चित नाटकहरू पुस्तक काठमाडौंबाट प्रकाशित भएको छ ।
सात दशक लामो साहित्य यात्रामा उनी असंख्य राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान र पुरस्कारले सम्मानित भए । सन् १९८३ मा नेपाली साहित्य सम्मेलन दार्जिलिङले ‘दियालो पुरस्कार’ प्रदान गरेपछि उनले निरन्तर सम्मान र पुरस्कार प्राप्त गरिरहे । सन् १९८५ मा उनलाई पश्चिम बंगाल राज्य सरकारले प्रदान गर्ने ‘भानु’ पुरस्कार प्रदान गर्यो भने ब्रह्मपुत्रको छेउछाउ उपन्यासका लागि सन् १९८७ मा साहित्य अकादमी पुरस्कार प्रदान गर्यो ।
उनले मदन स्मारक व्याख्यानमाला सम्मान, वाराणसी, वेदनिधि पुरस्कार (काठमाडौं), अगम स्मृति पुरस्कार (सिक्किम), असम नेपाली साहित्य सभा पुरस्कार, अभिजमान ट्रस्ट पुरस्कार, कुवेत, नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार, पूर्वाञ्चल साहित्य शिरोमणि पुरस्कार, हरिभक्त कटुवाल स्मृति पुरस्कार, जगदम्बाश्री अन्तर्राष्ट्रिय पुरस्कार, वसुन्धराश्री पुरस्कार प्राप्त गरेका थिए ।
पद्मश्री पुरस्कार प्राप्त गर्ने उनी पूर्वोत्तर भारतका पहिलो नेपालीभाषी हुन् । ८ नोभेम्बर २०२१ मा नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले उनलाई देशको चौथो सर्वोच्च असामरिक सम्मान पद्मश्री पुरस्कारबाट सुशोभित गरिएको थियो ।
नेपाली भाषा–साहित्यमा उनको आजीवन लगनशीलता र शिक्षा क्षेत्रमा रहेको योगदानका निम्ति उनलाई सम्मान गरिएको थियो । उनका कृतिहरूले पाठकलाई गहिरो सामाजिक सचेतना दिन्छन् । नेपाली साहित्यका एक नक्षत्र अस्ताए पनि उनका कृति सधैँ जीवित रहनेछन् ।
राष्ट्रपति, प्रधानमन्त्री, कांग्रेस सभापतिले सम्झिए क्षेत्री
राष्ट्रपति रामचन्द्र पौडेलले क्षेत्रीको निधनबाट दुःखी भएको भनेका छन् । ‘भारतमा जन्मेर पनि नेपाली साहित्यमा महत्वपूर्ण योगदान गर्नुहुने लीलबहादुर क्षेत्रीको निधनको खबरले म अत्यन्तै दुःखित छु । बसाइँ उपन्यासका सर्जक नेपालको मदन पुरस्कारबाट सम्मानित क्षेत्रीप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ पौडेलले एक्समा राखेको समवेदना सन्देशमा छ ।
प्रधानमन्त्री केपी ओलीले साहित्यकार क्षेत्रीको बसाइँ उपन्यास सम्झेका छन् । ‘लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँका ‘बसाइँ’ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिंगै गाउँ नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन्,’ ओलीले फेसबुकमा लेखेका छन्, ‘भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुस्कार’बाट सम्मानित उहाँको ‘ब्रम्हपुत्रको छेउछाउ’ उपन्यासले पनि पूर्वाेत्तर भारतका नेपालीको संघर्षको कथा भन्छ । उनै ख्यातिप्राप्त साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको खबरले पीडा भएको छ ।’
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीको निधनको खबरले स्तब्ध भएको टिप्पणी गरेका छन् । ‘उहाँले नेपाली साहित्यिक क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय छ,’ देउवाले भनेका छन् ।
असमका मुख्यमन्त्री मुख्यमन्त्री हिमन्त विश्व शर्माले प्रख्यात लेखक तथा पद्मश्री पुरस्कार विजेता क्षेत्रीको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् । असममा गोर्खा समुदायको जीवनगाथालाई साहित्यको माध्यमबाट प्रस्तुत गर्न उनको अग्रणी भूमिका आगामी पुस्ताले सधैँ सम्झने उनले बताएका छन् । भारतको बन्दरगाह तथा पानीजहाजसम्बन्धी केन्द्रीय मन्त्री एवं असमका पूर्वमुख्यमन्त्री सर्वानन्द सोनवालले पनि क्षेत्रीको निधनमा दुःख व्यक्त गरेका छन् ।
दार्जिलिङका सांसद तथा भाजपा नेता राजु विष्टले साहित्यकार क्षेत्री भौतिक रूपमा अस्ताए पनि आफ्ना रचनामार्फत उनी नेपाली रचना संसारमा सदैव जीवित रहिरहने प्रतिक्रिया दिएका छन् । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले तामाङले पनि साहित्यकार क्षेत्रीप्रति समवेदना व्यक्त गरेका छन् ।