मंगलबार साउदी अरबमा अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबिचको वार्ता ‘ठिकै’ भएको एक वरिष्ठ युक्रेनी अधिकारीले बताएका छन् । युक्रेनी र अमेरिकी वरिष्ठ अधिकारीले तीन वर्षदेखि रुससँग भइरहेको युद्ध अन्त्य गर्ने विषयमा मंगलबार वार्ता सुरु गरेका थिए ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई युद्ध रोक्ने गरी दबाब दिन अमेरिकी सैन्य सहायता र केही गुप्तचर आदानप्रदान रोकेपछि वार्ता भएको हो । ट्रम्पका विशेष दूत स्टिव विटकफ यस सप्ताहन्तमा मस्को जाने अपेक्षा गरिएको छ, जहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने चर्चा छ ।
यद्यपि, युक्रेनी राष्ट्रपतिका सहयोगी एन्ड्री येर्माकले वार्ताको सबैभन्दा महत्वपूर्ण विषय युक्रेनमा न्यायपूर्ण र दिगो शान्ति कसरी प्राप्त गर्ने भन्ने रहेको बताए । उनले भविष्यमा रुसलाई फेरि आक्रमण गर्नबाट रोक्न सुरक्षा ग्यारेन्टीका लागि काम भइरहेकोमा उनले जोड दिए । गत महिना ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबिचको चर्काचर्कीपूर्ण भेटवार्तापछि दुई पक्षबिचको यो पहिलो भेट थियो । बैठकमा साउदी अरबका विदेशमन्त्री पनि उपस्थित थिए ।
भेटवार्ताको पूर्वसन्ध्यामा रुबियो र जेलेन्स्की सोमबार केही घण्टाको अन्तरमा साउदी अरब अवतरण गरेका थिए । तथापि, दुई नेताको प्रत्यक्ष भेटघाट भने भएन । जेलेन्स्कीले सोमबार साँझ साउदीका शक्तिशाली युवराज मोहम्मद बिन सलमानसँग भेट गरेका थिए । पछि रुबियोले पनि युवराजलाई भेट गरेका थिए । उनले वार्ताको आयोजना गरेकामा धन्यवाद दिँदै यमनका हुथी विद्रोहीबारे छलफल गरे । गाजामा पुनः युद्ध भड्किने सम्भावनाबिच हुथीहरूले लाल सागरमा पुनः आक्रमण गर्ने धम्की दिएका छन् ।