संसदमा राजकिशोरको प्रश्न– ज्ञानेन्द्र एयरपोर्टबाट घर जाँदा किन तर्सिएको ?

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण

जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रथम उपाध्यक्ष एवं सांसद राजकिशोर यादवले पूर्वराजा ज्ञानेन्द्र शाह विमानस्थलबाट घर जाँदा किन आत्तिएको भन्दै सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका नेतामाथि प्रश्न गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवले राजावादीहरू सल्बलाउनुमा ठुला दलका नेताहरूको कार्यशैली र सरकार सञ्चालनको तरिका जिम्मेवार रहेको बताए। उनले सत्ता र प्रतिपक्षी दलका नेताहरूले संसदमा बोल्दा एकअर्काप्रति आरोप-प्रत्यारोप र रोइलो गरेको टिप्पणी गरे।

‘प्रमुख प्रतिपक्षी दलका नेताको कुरा पनि सुनियो। सत्तापक्षका होनहार नेताहरूका कुरा पनि सुनियो। यो सदनको बहस सुन्दा यो बहस नभएर, जनताको आवाज नभएर नेताहरूको गनगन र रोइलोजस्तो। मलाई लाग्छ, त्यो एक प्रकारको आफैँप्रतिको अविश्वासको प्रतीकात्मक अभिव्यक्ति थियो,’ यादवले भने, ‘कुराका लागि कुरा मात्र गर्ने हो भने एकजना एयरपोर्टबाट आफ्नो घर जाँदा राज्यसत्ता नै तर्सिनुपर्ने, चिन्तित हुनुपर्ने र पूरै सदनको समय खर्चिनुपर्ने अवस्था आयो।’

यादवले यो स्थिति आउनुमा आफूहरूका व्यवहार जिम्मेवार रहेकामा समीक्षा गर्न उनले प्रमुख दलका नेताहरूलाई आग्रह गरे। ‘एकचोटि आफूले रजगज गरेका, आफूले जसरी व्यवस्थाको नाममा राज्य कब्जा गरेर दोहन गरेका ती दिनहरूलाई एकचोटि हामी फेरि रिभिजिट गर्ने हो कि ?’ उनले भने, ‘मलाई लाग्छ अरूतिर औँला उठाउनुअघि हामी सबैले आफैँतिर एकचोटि आत्मसमीक्षा गर्नुपर्ने भएको छ।’

सत्ताधारी दलहरूले राज्यका अंगहरू कब्जा गरेर आफूलाई लिडरका रूपमा नभई ‘डिलर’का रूपमा विकास गरेको आरोप उनले लगाए। दलका नेताहरूले दलपतीका रूपमा शासन चलाउन खोजेकाले असन्तुष्ट जनता राजावादीको प्रदर्शनमा सहभागी भएको उनको टिप्पणी थियो।

सुझावित समाचार