स्वास्थ्य सेवामा राजनीतीकरण बन्द गरौँ : मुख्यमन्त्री लामा

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले स्वास्थ्य सेवालाई राजनीतीकरण गर्न बन्द गर्नुपर्ने बताएका छन्।

मंगलबार हेटौँडा अस्पतालमा मुटुरोगसम्बन्धी सेवाको शुभारम्भ गर्दै उनले राजनीति छोडेर आमनागरिकमा स्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउन आग्रह गरे।

मुख्यमन्त्री लामाले प्रदेश सरकारले हेटौँडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्रविधि तथा जनशक्तिको व्यवस्थापनमा काम गरिरहेको जानकारी गराए। प्रदेश सरकार नागरिकलक्षित गुणस्तरीय सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ।

विगतको तुलनामा प्रदेशको स्वास्थ्य सेवामा क्रमिक रूपमा सुधार भइरहेको उनले दाबी गरे। हेटौँडा अस्पतालमा कार्डियो सेवा तथा क्याथ ल्याबको दीर्घकालीन सञ्चालनका लागि उपकरण र दक्ष जनशक्ति व्यवस्थापनको काममा सरकारले निरन्तर सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले प्रदेशको स्वास्थ्य सेवा गुणस्तरिय बनाउन आफू लागिपरेको बताए। विभिन्न संघसंस्थासँगको समन्वयमा प्रादेशिक अस्पतालको सेवा विस्तार तथा व्यवस्थापनमा मन्त्रालयले काम गरिरहेको उनको भनाइ थियो।

कार्यक्रमको अध्यक्षता गरेका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा प्रदीप ज्ञवालीले प्रादेशिक अस्पतालको सेवा विस्तारसँगै निरन्तरता महत्त्वपूर्ण हुने बताए। सेवा विस्तारमा आएका छात्रवृत्तिका विशेषज्ञ डाक्टरलाई अस्पतालमा दुई वर्ष टिकाउनुपर्ने अवस्था रहेको उनले बताए।

उनका अनुसार नीतिगत रूपमा प्रतिष्ठानमा संकाय निर्माण गरेर डाक्टरको दरबन्दी कायम गरिनेछ।

सुझावित समाचार