साहित्यकार बालिका बान्तावाको नवीनतम उपन्यास ‘प्याउली’ सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय नारी दिववसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमबिच साहित्यकार उषा शेरचन, समालोचक बिन्दु शर्मा, कवि सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा र लेखकले उपन्यास लोकार्पण गरेका हुन्।
उपन्यासमाथि बोल्दै समालोचक शर्माले लेखकले आख्यानको माध्यमबाट आफ्नो भोगाइ लेखेको र यो सबैको साझा भोगाइ भएको बताइन्। उनले भनिन्, ‘यो कथा, यो भोगाइ लेखकको मात्रै होइन, हामी धेरैको भोगाइ हो। हुन सक्छ, हामी कोही बिछोडिएर जोडिएका हौँला वा कोही सम्झौता गरेर बसेका हौँला। तर, आखिर भोगाइ भने साझा हुन्।’
लेखकले आफ्नो जीवनकथालाई नै औपन्यासिक रूप दिइएको शर्माको भनाइ थियो। ‘पढ्दै जाँदा प्याउली लेखकको जीवनकथामा आधारित रहेको देखिन्छ, जसले पाठकलाई नजिकैबाट छुन्छ,’ उनले भनिन्।
त्यसैगरी, साहित्यकार शेरचनले ‘प्याउली’ले पाठकलाई तान्ने बताउँदै उपन्यास सफल रहेको दाबी गरिन्।
उपन्यासकार बान्तावाले आफूभित्र रहेको उकुसमुकुस पोख्ने माध्यम खोज्दै जाँदा ‘प्याउली’को जन्म भएको बताइन्। ‘भन्नुपर्ने केही कुराहरू थिए, जसलाई नभन्दासम्म मैले आफूलाई सन्चो भएको महसुस गर्न सकिनँ। मैले ती उकुसमुकुसलाई कतै न कतैबाट पोख्नु थियो। त्यही उकुसमुकुसलाई पोख्ने माध्यम खोज्दा यो पुस्तकको जन्म भयो,’ उनले भनिन्।
झापा घर भई हङकङमा बसोबास गर्दै आएकी बान्तवाको यो पहिलो कृति हो, जसको प्रकाशन कलरब धरानले र कार्यक्रम आयोजना सम्भव समूहले गरेको हो।