दिनेश अधिकारीको ‘पानीको परेड’ कवितासंग्रह सार्वजनिक

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

कवि दिनेश अधिकारीको कवितासंग्रह ‘पानीको परेड’ लोकार्पण गरिएको छ। अधिकारीका कविता छापिन थालेको ५० वर्षको अवसर पारेर पब्लिकेसन नेपालयले ‘पानीको परेड’ प्रकाशन गरेको हो।

कवितासंग्रहभित्र कवि अधिकारीले पछिल्लो १५ वर्षयता लेखेका धेरै कविताबाट छानेर ७७ वटा समेटिएको छ । जीवनको ज्वार, आस्थाको आकाश, वक्र (वर्षा, नियतिका निःश्वास, प्रकृतिको पदचाप, पाइलापछि पाइला र प्रेमको प्रकाश गरी पुस्तकमा सात खण्डमा ७७ कविता छन्।

अधिकारीले आफूभन्दा पछिल्लो पुस्ताका सशक्त कवि मोमिला र नवराज लम्साललाई पुस्तक उपहार दिएर लोकार्पण गरिएको थियो। ‘आमा’ कविता वाचनबाट आफ्नो मन्तव्य सुरु गरेका अधिकारीले श्रीमती उषा अधिकारीलाई पनि मञ्चमा बोलाएर पुस्तक उपहार दिए।

१८० पृष्ठको ‘पानीको परेड’को मूल्य ५२५ रुपैयाँ छ। पुस्तक देशभरका प्रमुख पुस्तक पसलमा उपलब्ध रहने पब्लिकेसन नेपालयले जनाएको छ । साथै, अमेजन र थुप्रैडटकममार्फत पुस्तक भौतिक र इबुकका रूपमा किन्न सकिन्छ ।

‘अतिरिक्त अभिलेख’ कवितासंग्रहका लागि मदन पुरस्कार प्राप्त कवि अधिकारीको अघिल्लो संग्रह ‘भरियाको भूगोल’ पनि नेपालयबाटै प्रकाशित छ।

सुझावित समाचार