युक्रेनका लागि अघि सर्नुपर्छ युरोप

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण
  • अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय प्रणाली कमजोर हुँदै जाँदा युरोप अघि सरेर रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई पूर्ण समर्थन गर्नुपर्छ 

डाेनाल्ड ट्रम्प र जेडी भान्सले २८ फेब्रुअरी २०२५ मा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीमाथि गरेको वाक् आक्रमणले अमेरिकी इतिहासकै कलंकित क्षण झल्काउँछ । यसले अमेरिकाको अन्तर्राष्ट्रिय विश्वसनीयता कमजोर पार्दै उसलाई अधिनायकवादी राष्ट्रको सूचीमा पुर्याएको छ । अमेरिकी नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय प्रणाली कमजोर हुँदै गएका वेला युरोपले अघि बढेर रुसको आक्रमणको सामना गरिरहेको युक्रेनलाई पूर्ण समर्थन गर्न आवश्यक छ । 

सैन्य हैसियतमा युरोप अमेरिकाजति शक्तिशाली छैन, तर यसको अर्थ युरोप कमजोर छ भन्ने होइन । वास्तवमा युरोपसँग आवश्यक सबै शक्ति र स्रोत छन् । यसको संयुक्त सैन्य बल विश्वकै सबैभन्दा बलियो, अनुभवी र नवप्रवर्तनशीलमध्ये पर्छ । ट्रम्प र भान्सले जानाजान उक्साएको ओभल अफिसको विवाद युरोपका लागि दशकौँको निराशा पछाडि छाडेर एकताबद्ध हुने अन्तिम प्रेरणा बन्नुपर्छ । युरोपसँग आफैँमा दृढ रूपमा उभिन, युक्रेनलाई समर्थन गर्न र रुसलाई रोक्न आवश्यक सबै क्षमता छ ।

यसका अतिरिक्त ट्रम्पको लज्जास्पद व्यवहारले अमेरिकाको सबैभन्दा घनिष्ठ सहयोगीलाई युरोपतर्फ नजिक्याउँदै छ र ब्रेक्जिटपछि आएको विभाजनलाई कम गर्न मद्दत गरिरहेको छ । यसले लोकतान्त्रिक शक्तिलाई सक्रिय बनाउँदै राजनीतिक नेतृत्वलाई सतर्क हुन बाध्य पारिरहेको छ । युरोपमा छिट्टै जर्मनीमा मध्यमार्गी दुई–दलीय सत्तारुढ गठबन्धन र अस्ट्रियामा प्रतिबद्ध लोकतान्त्रिक सरकार बन्न सक्ने सम्भावना छ । कठिन समयपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको लोकप्रियता फेरि बढ्न थालेको छ ।

युरोपमा आधा अर्ब जनसंख्या छ र अमेरिकासँग तुलना गर्न सकिने गार्हस्थ्य उत्पादन छ । हामी धेरै नवप्रवर्तनशील नहुन सक्छौँ, तर विभिन्न विज्ञले देखाएजस्तो खाडल छैन । हामीले जापान, ताइबान र दक्षिण कोरियासँग गठबन्धन बनाउन सक्यौँ भने यो खाडल चाँडै पूरा गर्न सक्छौँ । अहिले ट्रम्प, भान्स र इलोन मस्कले सांस्कृतिक राजनीतिद्वारा अमेरिकी शक्तिका स्तम्भ ध्वस्त पार्दै छन् । ट्रम्प प्रशासनले उपभोक्ताका लागि महसुल बढाउनुका साथै आप्रवासीविरुद्ध युद्ध छेडिरहेको छ, जुन लामो समयदेखि अमेरिकी शक्ति र समृद्धिको विशेष स्रोत रहँदै आएको छ । युरोपले यसलाई अवसरका रूपमा लिनुपर्छ र अमेरिकाका उत्कृष्ट संघीय संस्थानबाट निकालिएका प्रतिभाशाली र सक्षम व्यक्तिलाई स्वागत गर्नुपर्छ ।

रक्षा क्षमताको कुरा गर्दा जर्मनीको औद्योगिक आधार युरोपलाई आवश्यक हतियार आपूर्ति गर्न पर्याप्त छ, जब कि फ्रान्स र ब्रिटेनको आणविक सुरक्षा छाताले अमेरिकाको स्थान लिन सक्छ । पाँच प्रमुख युरोपेली देश र बेलायतसँग अहिले जिम्मेवार र विश्वसनीय सरकार छन्, जसले वासिंटनको सत्तामा रहेका नेतालाई जवाफदेही बनाउने सामर्थ्य राख्छन् । आगामी घटनाक्रममा पोल्यान्डको भूमिका विशेष रूपमा महत्वपूर्ण छ । आर्थिक प्रवृत्ति हाम्रा पक्षमा छन् । हाम्रो सेनाको विस्तार भइरहेको छ । समय रहँदै हामीले उपयुक्त हतियार खरिद गरेका छौँ । ट्रम्पले समेत हाम्रो आलोचना गर्ने कुनै कारण भेट्न सकेका छैनन् । यो कुरा सबै युरोपेलीले देखिरहेका छन् । फ्रान्सेलीहरू यसलाई ले मोमेन्ट पोलोनियास (पोल्यान्डको क्षण) भनिरहेका छन् । पोल्यान्डका हालका नेता विश्वमै सबैभन्दा अनुभवी, सम्मानित र दृढ राजनेतामध्ये पर्छन् । 

हालै सम्पन्न म्युनिख सुरक्षा सम्मेलनमा मैले धेरै अमेरिकी राजनीतिज्ञसँग कुरा गरेको थिएँ । भेट भएकामध्ये ट्रम्पको अगाडि घुँडा टेक्ने सिनेटर लिन्डसे ग्राहमजस्ता व्यक्ति पनि थिए र मैले तिनमा आत्मविश्वासको कुनै संकेत देखिनँ । आफू वास्तवमा के सोच्छन् भन्नुको सट्टा आफ्नो कद घटाउँदै उनीहरूले ट्रम्पको बोलीमा लोली मिलाएका थिए । यो दृश्य हेर्न लाजमर्दो थियो । जब ट्रम्प प्रशासनका युक्रेनका दूत किथ केल्लगलाई सम्मेलनको एक छलफलमा ‘के हामीसँग अझै गठबन्धन बाँकी छ ?’ भन्ने प्रश्नमा उनले आफैँलाई पनि केही थाहा नभएको स्विकारेका थिए । अहिले वासिंटनमा सम्पूर्ण शक्ति ट्रम्पमा केन्द्रित छ । वासिंटनमा अब ‘सुझबुझपूर्ण’ व्यक्तिको उपस्थिति छैन, केवल चाकरीबाज छन्, जसले आफ्ना मूर्ख मालिकका विचार सबैभन्दा ठुलो स्वरमा दोहोर्याउन प्रतिस्पर्धा गरिरहेका छन् ।

इतिहासकार टिमोथी स्नाइडरको तर्क यहाँ सान्दर्भिक छ । उनले सन् २०२५ मा अमेरिका के सोच्छ भन्ने भन्दा पनि युरोप के गर्न सक्छ भन्ने विषय महत्वपूर्ण छ । ट्रम्प नीति (यो शब्द नै उदार रूपमा प्रयोग गरिएको हो) छोटो अवधिमा मात्र फाइदाजनक हुन सक्छ, अहिलेका लागि कसैले पनि अमेरिकासँग प्रत्यक्ष टक्कर लिने साहस गर्दैन । तर, लामो अवधिमा अमेरिकी राज्यसंयन्त्रको विघटन, निरर्थक महसुल र मित्रराष्ट्र तथा सहयोगीलाई टाढा पार्नुले स्थायी क्षति पुर्याउनेछ । अहिले युक्रेनको समर्थनमा दृढ रूपमा उभिने समय हो । जेलेन्स्कीलाई गरिएको व्यवहार पूर्ण रूपमा लाजमर्दो थियो, जसलाई रुसले खुला रूपमा स्वागत गर्यो । यो अमेरिकी सरकारले आफ्नो निष्ठा कहाँ छ भन्ने स्पष्ट देखाइसकेको छ । यही कुरा ट्रम्पका सल्लाहकारले युक्रेनमाथि जबर्जस्ती लागू गर्न खोजेको महत्वपूर्ण खनिज सम्झौतामा पनि देखियो । पहिलो प्रस्ताव माफिया शैलीको दबाबजस्तो थियो, जसलाई जेलेन्स्कीले स्वभावतः अस्वीकार गरेका थिए । पछि आएको सम्झौता भने धेरै राम्रो थियो ।

यदि ट्रम्प र भान्सको घृणित व्यवहारप्रति अमेरिकी जनताबाट विद्रोह हुन्छ भने म अचम्मित हुनेछैन । तर, युरोपले अमेरिकी जनताको प्रतिक्रिया कुर्न सक्ने अवस्था छैन । ट्रम्प फेरि ह्वाइट हाउसमा फर्किएपछि अमेरिकासँग आफ्नै ठुला समस्या हुनेछन् । युरोपले अब आफ्नो भविष्य आफैँले सम्हाल्नुपर्छ ।

(स्लावोर सियेराकोवस्की पोल्यान्डका पत्रकार, लेखक एवं समाजशास्त्री हुन् )
प्रोजेक्ट सिन्डिकेटबाट

 

सुझावित समाचार