उदयपुरमा खोरेत उन्मूलन गर्न खोप अभियान जारी

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

उदयपुरमा पशुमा लाग्ने खोरेत रोग उन्मूलन गर्न खोप अभियान जारी छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख शुक्रराज लिम्बूका अनुसार जिल्लाका आठवटै पालिकाका कुल एक लाख दुई हजार पशुलाई खारेतविरुद्धको खोप लगाउने अभियान सुरु गरिएको हो।

प्रमुख लिम्बूका अनुसार अभियनमा त्रियुगा नगरपालिकामा १९ हजार, चौदण्डीगढी नगरपालिकामा १३ हजार, कटारी नगरपालिकामा १३ हजार, बेलका नगरपालिकामा १६ हजार ६ सय, उदयपुरगढी गाउँपालिकामा ९ हजार, ताप्ली गाउँपालिकामा  ११ हजार ५७९, रौतामाई गाउँपालिकामा १३ हजार र लिम्चुङबुङ गाउँपालिकामा ७ हजार ६ सय पशुलाई खोरेतविरुद्धको खोप लगाइनेछ।

यही फागुन १० गतेदेखि खोप अभियान सुरु भएको जानकारी दिँदै प्रमुख लिम्बूले भने, ‘हामीले यस वर्षको खोप लगाउन थालेका छौँ। अबका दिनमा बर्सेनि लगाउने कार्ययोजना छ।’ जिल्लालाई खोरेत रोगमुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियान सुरु भएको हो।

खोरेत पशुहरूलाई लाग्ने एक प्रकारको सरुवा रोग हो। यो रोग लागेमा पशुहरूको खुर पाक्ने भएकाले यस रोगको नाम खोरेत (खुरको रोग) रहेको बताइन्छ। यो रोग खास गरेर घरमा पालिने जनावर गाई, भैँसी, बाख्रा आदिलाई लाग्ने गरेको छ। यो रोग लागेमा पशुहरूको खुर पाक्नुका साथै ज्वरो आउने, घाँस नखानेजस्ता लक्षणहरू देखा पर्छ।

See More On

सुझावित समाचार