भारतीय बजारमा बर्ड फ्लू भेटिएपछि पर्सामा कुखुराको पैठारीमा पूर्ण रोक

आइतबार, १८ फागुन, २०८१
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय पर्साले छिमेकी मुलुक भारतमा बर्डफ्लूको प्रकोप फैलिएपछि सीमावर्ती भारतीय भूमिबाट कुखुरा, चल्ला र सेतो अन्डा आयातमा पूर्ण रोक लगाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा आज आइतबार बसेको सरोकारवालाहरूसँगको यस्तो निर्णय गरेको हो। प्रजिअ अर्यालले सीमावर्ती क्षेत्रमा बर्डफ्लूको प्रकोप देखिएकाले उच्च सावधानी अपनाउँदै कुखुरा तथा कुखुराजन्य उत्पादनको पैठारीलाई रोक लगाउने निर्णय गरेको जानकारी दिए।

‘आन्तरिक बजारमा यस्ता वस्तुको उपभोग एवं बेचबिखन कार्यलाई निरुत्साहित गर्न तत्काल संयुक्त अनुगमन गर्ने र सीमा क्षेत्रमा थप निगरानी बढाउने निर्णय गरिएको छ,’ उनले भने।

बैठकले भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र पर्साका प्रमुख डा. राजकुमार शाहको संयोजकत्वमा ‘र्यापिड एक्सन टिम’ गठन गर्ने निर्णय पनि गरेको छ। सदस्यमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि कृष्णकुमार कुशवाहा, वीरगन्ज उद्योग वाणिज्य संघकी शिवानी कलवार तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल लेयर्स कुखुरापालक संघका प्रतिनिधि रहने गरी टोली गठन गरिएको हो।

सो टोलीलाई सोमबारबाट अनुगमन सुरु गर्ने र त्यसक्रममा प्राप्त वस्तुस्थितिका आधारमा सम्बन्धित पक्षलाई कारबाही र त्यसको प्रचारप्रसार गर्ने प्रकाशन तथा प्रसारण गर्ने कार्यादेश दिइएको छ।

सुझावित समाचार