केपी ओली संविधान मिच्ने उस्ताद : माधव नेपाल

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण
केपी ओली संविधान मिच्ने उस्ताद : माधव नेपाल

फाइल तस्बिर

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई संविधान मिच्ने उस्तादको संज्ञा दिएका छन्। अदालत र नागरिकले गलत ठहर गर्दा पनि दुईपटक संसद् विघटन गरेको उल्लेख गर्दै नेपालले यस्तो टिप्पणी गरेका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित भूमि अध्यादेशसम्बन्धी अन्तर्क्रियामा बोल्दै अध्यक्ष नेपालले नराम्रो पृष्ठभूमि बोकेका प्रधानमन्त्रीबाट राम्रो उद्देश्य राखेर राम्रो काम हुन्छ भन्ने आस गर्न नसकिने बताए।

‘प्रधानमन्त्रीजी संविधान मिच्ने कुराको उस्ताद हुनुहुन्छ । र, त्यो गर्ने कुराप्रति गौरवबोध गर्नुहुन्छ । उहाँलाई संविधानसँग मतलब छैन, कानुनसँग मतलब छैन, विधिसँग मतलब छैन र व्यापक छलफल, परामर्शसँग पनि कुनै मतलब छैन । जति धेरै छलफल गर्याे त्यति धेरै राम्रो हो,’ उनले भने।

विधिको पालना नगर्ने राज्यका सञ्चालकले अरूलाई विधिको पालना गर भन्ने नैतिक अधिकार नराख्ने उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘पहिले संविधानमा हुँदै नभएको प्रावधानलाई प्रयोग गरेर उहाँले प्रतिनिधिसभा विघटन गरेको इतिहास पुरानो भएको छैन । उहाँलाई मन लाग्यो भंग गरिदिनुभयो, चुनावको मिति घोषणा गरिदिनुभयो । अदालतले त्यो बेठिक भन्न थाल्यो। तैपनि उहाँले टेर्नुभएन, आमजनसमुदायले त्यसलाई अनुचित ठान्यो। विरोध गर्याे फेरि दोस्रोपटक भंग गर्नुभयो, यस्तो पृष्ठभूमि बोकेका प्रधानमन्त्रीबाट राम्रो उद्देश्य राखेर राम्रो काम गरिएको होला भन्ने कुराको आशा गर्न सकिँदैन।’

भूमिसम्बन्धी अध्यादेश ल्याउँदा प्रधानमन्त्री ओलीले विधि उल्लंघन गरेको भन्दै अध्यक्ष नेपालले विधिको उल्लंघन दण्डनीय हुने उल्लेख गरे। संसदीय समितिमा विधेयक विचाराधीन भएको अवस्थामा अध्यादेशको रूपमा ल्याउन नपाइने व्यवस्था स्मरण गराउँदै उनले भने, ‘ल्याउनैपर्याे भने सबैभन्दा पहिले समितिबाट फिर्ता भइसक्नुपर्छ।’

सुझावित समाचार