चीनको सिचुवान प्रान्तीय सरकारद्वारा ६० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण

चीनको सिचुवान प्रान्तीय सरकारले ६० जना नेपाली विद्यार्थीलाई प्रत्येक तीन वर्षमा छात्रवृत्ति दिने घोषणा गरेको छ । चीन भ्रमणमा रहेको कांग्रेस प्रतिनिधिमण्डल र सिचुवान प्रान्तीय सरकारका मन्त्री र नेताहरूको छलफलपछि सिचुवान सरकारले छात्रवृत्ति दिने घोषणा गरेको हो ।

छलफलमा कांग्रेस नेतृ सुजता कोइरालाले नेपाली विद्यार्थीका लागि छात्रवृत्ति तथा चीनबाट लुम्बिनी र लुम्बिनीबाट पोखरा सीधा उडान सुरु गर्न आग्रह गरेकी थिइन् । उनले आफूले राखेको एउटा प्रस्ताव तुरुन्त सम्बोधन भएको र अर्को प्रस्ताव पनि चाँडै सम्बोधन हुने विश्वास व्यक्त गरिन् ।

चिनियाँ कूटनीतिज्ञ सरलाले कोइरालाको भ्रमणलाई आफूहरूले महत्त्वका साथ लिएको र छात्रवृत्तिको विषय भ्रमणको महत्त्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिइन् । कूटनीतिज्ञ सरलाले चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका सबै राजनीतिक दलहरूसँग समानस्तरको सम्बन्ध राख्न चाहेको धारणा राखिन् ।

चीनले विचारको विभाजन रेखा राखेर दृष्टिकोण नबनाउने स्पष्ट पार्दै उनले यो भ्रमणले कांग्रेससँगको सम्बन्ध अझै बलियो बनाउने उद्देश्यबाट अभिप्रेरित भएकोसमेत बताइन् ।

भ्रमण टोलीलाई सिचुवानको प्रसिद्ध पर्यटकीय क्षेत्र कुवानझाईको अवलोकनसमेत गराइएको थियो । त्यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको संस्कृतिप्रतिको दृष्टिकोणबारे भ्रमण टोलीलाई जानकारी गराइएको थियोे । यस्तै, चीनको विकास र आगामी योजनाका विषयमा अन्तर्क्रियासमेत भएको थियोे ।

सुझावित समाचार