गृह मन्त्रालयमा महिनौंदेखि पाँच सहसचिव जिम्मेवारीविहीन रहेको अवस्थामा मन्त्रालयमा थप १७ सहसचिवको सरुवा भएको छ । गत सोमबारको मन्त्रिपरिषद्को बैठकले ७८ जना सहसचिवको सरुवा गरेकोमा १७ जनालाई गृह मन्त्रालयमा पठाइएको छ । हाल गृहमा शशिधर घिमिरे, सूर्यप्रसाद सेढाईं, बन्धु बाँस्तोला, प्रेमप्रसाद भट्टराई र नारायण रिसाल जिम्मेवारीविहिन छन् । मन्त्रालयमा सहसचिवका पद रिक्त नभए पनि ठुलो संख्यामा सहसचिव ल्याइएको छ ।
हालै सहसचिवमा बढुवा भएका भविश्वर पाण्डे, विजयराज सुवेदी, प्रेमप्रसाद लुइँटेल, लक्ष्मण ढकाल, दिलकुमार तामाङ, जगदीश्वर उपाध्याय, दिव्यराज पोखरेल र धर्मराज जोशीलाई गृह मन्त्रालयमातहत खटाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बलराम रिज्याल, श्रम मन्त्रालयका सुरेन्द्र पौडेल, अख्तियार दुरुप्योग अनुसन्धान आयोगका ईश्वरीप्रसाद अर्याल, नरहरि घिमिरे र माधवप्रसाद पोखरेलको पनि गृहमा सरुवा भएको छ । कर्णाली प्रदेशमा कार्यरत आनन्द सारू, लुम्बिनी प्रदेशमा कार्यरत वेदप्रसाद खरेल, गण्डकी प्रदेशमा कार्यरत कुमानसिंह गुरुङ, सार्वजनिक खरिद अनुगमनको कार्यालयमा कार्यरत दीपकराज नेपाललाई पनि गृहमा पठाइएको छ ।
गृह मन्त्रालयबाट भने दुईसचिव मात्र बाहिरिएका छन् । बाँकेको सिडिओका रूपमा कार्यरत खगेन्द्रप्रसाद रिजालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगल र विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत रामबन्धु सुवेदीको सार्वजनिक खरिद अनुगमनको कार्यालयमा सरुवा भएको छ । हाल रौतहट र ओखलढुंगामा सिडिओ पद रिक्त छ । एक वर्ष अवधि पुगेका कतिपय जिल्लामा पनि सिडिओको नियमित सरुवा हुन सकेको छैन । नयाँ सहसचिव आएसँगै धेरै जिल्लामा सिडिओ हेरफेर गर्ने गृह मन्त्रालयको तयारी छ ।