प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का सदस्यसचिव महेश भट्टराईलाई ३ प्रश्न

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

प्राविधिक विषयमा छात्रवृत्तिका कोटासमेत भरिन नसक्नुले के संकेत गर्छ ?
अहिले प्राविधिक शिक्षामा विद्यार्थीको कमी देखिनुमा सरकारी तथा निजी क्षेत्रको आर्थिक शिथिलता मुख्य रूपमा जिम्मेवार छ । अहिले सरकारले तोकेको छात्रवृत्तिको कोटासमेत पूरा हुन नसक्नुका पछाडि पनि यिनै कारणले भूमिका खेलेका हुन सक्छन् । यसका अतिरिक्त अहिले बच्चाको जन्मदर पनि निकै कम छ । त्यसको पनि प्रभाव पर्ने नै भयो । अनि, अहिले विदेश जाने मोहले धेरैलाई तानिरहेको हुनाले पनि प्राविधिक शिक्षाप्रतिको आकर्षण घटेको हुन सक्छ । 

यस्तो अवस्था आउनुका प्रमुख कारण के–के हुन सक्छन् ?
विगतमा प्राविधिक शिक्षालयको संख्या निकै न्यून थियो । हामीले साधारण शिक्षासित तुलना गरेर यसलाई एकैपटक १५–१६ को संख्याबाट ६ सय ४० जतिको संख्यामा पुर्यायौँ । पहिले हाम्रो भर्ना क्षमता ४०–४५ हजारजति थियो । अहिले करिब ८५ हजारजति पुगेको छ । पछिल्लो समयमा कक्षा ९–१२ मा पनि प्राविधिक धारको शिक्षा दिइन्छ । यद्यपि, कक्षा ९–१२ र सिटिइभिटीको पाठ्यक्रम भने भिन्न छ । तर, कक्षा ९–१२ मा प्राविधिक धार अध्ययन गर्ने र सिटिइभिटीको कोर्स पढ्ने विद्यार्थीको संख्या जोड्ने हो भने अहिले पनि करिब ४०–५० हजारको संख्या पुग्छ । यसले पनि विद्यार्थी खासै घटेको छैन भन्न सकिन्छ । 

प्राविधिक शिक्षामा आकर्षण बढाउन के गर्नुपर्ला ?
प्राविधिक जनशक्तिको माग र आपूर्तिबिच सन्तुलन कायम हुने गरी अघि बढ्नुपर्छ । महँगो हुने भएकाले प्राविधिक शिक्षा प्राप्त गरेपछि रोजगारी सुनिश्चित हुनुपर्छ । त्यसका लागि सबैभन्दा पहिले देशको आर्थिक गतिविधि बलियो हुनुपर्छ । सरकारी र संगठित क्षेत्रमा दरबन्दीहरू सिर्जना हुनुपर्छ । उद्योग, व्यवसाय फस्टाउने वातावरण हुनुपर्छ । 

सुझावित समाचार