सवारी दुर्घटनामा तीनको मृत्यु, पाँच घाइते

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

धादिङ र म्याग्दीमा सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । गल्छी गाउँपालिका– ३ गुप्तेश्वरी मन्दिरमा ट्यांकर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते गजुरी गाउँपालिका– ६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । उनका अनुसार आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्यांकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको हो ।

दुर्घटनामा घाइते भएका प्रशान्त र जयरामलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको थियो । उपचारका क्रममा उनीहरूको ज्यान गएको हो । दुर्घटनामा गजुरी गाउँपालिका– ६ का १९ वर्षीय शिरीष चेपाङ र १७ वर्षीय सुरेश चेपाङको धादिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । ट्यांकरचालक गजुरी गाउँपालिका– ६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, म्याग्दीको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानाको गुइठेभिरमा बुधबार दिउँसो भएको इकोभ्यान दुर्घटनामा एकको मृत्यु र तीनजना घाइते भएका छन् । दानाको सुकेबगरदेखि नारच्याङतर्फ जाँदै गरेको बा.६च ४९४४ नम्बरको इकोभ्यान सडकबाट कालीगण्डकी नदीको किनारमा खसेर दुर्घटना भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ । 

दुर्घटनामा अन्नपूर्ण गाउँपालिका– ४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचनको घटनास्थलमै मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए । घाइते रूपा पुन, नमिता चोचांगी र विष्णुकुमारी बुढाथोकीलाई उद्धार गरेर उपचारका लागि पोखरा अस्पताल पठाइएको छ । नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रुहरू चढेको भ्यान सडकदेखि करिब १५० मिटर तल कालीगण्डकी किनारमा खसेको थियो । दुर्घटनाका कारण अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा बुधबारदेखि सुरु गर्न लागिएको प्रथम तरुण कप भलिबल प्रतियोगिता स्थगित भएको छ ।

सुझावित समाचार