महान्यायाधिवक्ताको कार्यालयले डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। कार्यालयले १५ र १६ फागुनमा काठमाडौंमा डिजिटल अपराधसम्बन्धी दुईदिने सम्मेलन आयोजना गर्न लागेको हो।
नायब महान्यायाधिवक्ता टेकराज घिमिरेका अनुसार हाल साइबर संसारमा हुने अपराधको ५ प्रतिशत मात्र हाम्रो साइबर अपराध बारेको ऐनले समेट्छ। डिजिटल संसारमा हुने अपराधलाई अन्य देशले कसरी समेटेका छन् ? के–कसरी नियन्त्रण, अभियोजन हुँदै छ? भन्ने विषयमा सम्मेलनमा छलफल हुनेछ।
कार्यालयका अनुसार सम्मेलनमा १३ राष्ट्रका ९० भन्दा बढी सरकारी वकिल, कानुनविज्ञ, न्यायाधीश तथा कानुन क्षेत्रका विज्ञ सहभागी हुनेछन्। संयुक्त अधिराज्य (युके), नेदरल्यान्ड्स्, मलेसिया, साउदी अरब, भारत, चीन, श्रीलंकालगायतका देशबाट सहभागी उपस्थित हुने घिमिरेले जानकारी दिए। दुई दिनमा चारवटा प्लेनरी सत्र, आठवटा समानान्तर सत्र गरी कुल १६ कार्यपत्र प्रस्तुत हुनेछन्। नेपाल र अन्य मुलुकका सहभागीले कार्यपत्र प्रस्तुत गर्नेछन्।
‘अहिले हामी मात्र होइन, दुनियाँले भोगेको समस्या के हो भने साइबर क्षेत्रमा हुने अपराधलाई देशको सीमाले छेकेको छैन। यो एक देशलाई मात्र भएको समस्या होइन,’ महान्यायाधिवक्ता रमेश बडालले भने, ‘यस सम्मेलनमा विभिन्न मुलुकले यस्ता अपराध रोक्न गरिरहेका छलफलबारे सेयर हुनेछ। अन्य देशका अभ्यासबाट केही सिक्न सक्छौँ कि भन्ने हो।’ कतिपय अपराध बढ्नुमा पनि साइबर अप्रत्यक्ष रूपमा जोडिएकाले यी शीर्षकमा पनि छलफल गरिने बडालले बताए।
नायब महान्यायाधिवक्ता घिमिरेका अनुसार हालको बढ्दो वित्तीय अपराध रोक्न र कारबाहीका लागि अन्य देशले गरिरहेको अभ्यासबारे सरकारी वकिल र कानुनी अभ्यास गर्नेहरूलाई जानकारी गराउन पनि उक्त सम्मेलन आयोजना गरिएको हो। इन्टरनेसनल एसोसिएसन अफ प्रोसेक्युटर्सको कार्यक्रममा नेपाली सरकारी वकिल गएर फर्केपछि नेपालमा उक्त सम्मेलनको आयोजना गर्न लागिएको हो।
सम्मेलनले डिजिटल अपराधका विषयमा कानुनी अभ्यासबारे जानकारी दिने अपेक्षा लिइएको नायब महान्यायाधिवक्ता घिमिरेको भनाइ छ। ‘अहिले हाम्रो कानुन हेर्दा ग्लोबल्ली कम्प्याटिबल हुनुपर्ने देखिन्छ। क्रिप्टो वा साइबर अपराधकै घटनामा हामीले प्रयोग गरिरहेका कानुन पर्याप्त छैनन्। केही निश्चित दफाहरू प्रयोग गरेर मात्र हामीले मुद्दा दर्ता गरिरहेका छौँ,’ उनले भने।
सम्मेलनको पहिलो दिन उद्घाटनपछि ‘रिभेन्ज पोर्न’ का पीडितहरुलाई न्याय दिने कार्यमा रहेका कानुनी छिद्र र प्रक्रियागत सहयोगबारे छलफल हुनेछ। यसैगरी, सँगै प्रविधिमार्फत हुने यौन हिंसाको सम्बोधन विषयमा पनि सत्र रहेको छ। पहिलो दिन नै साइबर सुरक्षा र साइबर अपराध: रोकथाम र तयारी विषयको सत्र छ। डिजिटल अपराधको अनुसन्धान र अभियोजन संयन्त्रका विषयमा सोही दिन छलफल हुनेछ।
दोस्रो दिन बढ्दो डिजिटल चुनौती र प्रविधिको प्रयोगको बारेमा पहिलो सत्र रहनेछ। लगत्तै, समानान्तर सेसनमा क्रिप्टो करेन्सी र डिजिटल आर्थिक अपराधबारेका सत्र छन्। अन्तिममा एआईयुक्त अपराधको अनुसन्धान र अभियोजनबारे छलफल हुनेछ।
कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् भने समापन गृहमन्त्री रमेश लेखकले गर्नेछन्। अर्थमन्त्री विष्णु रिमाल, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश हरि फुँयाल, पूर्वन्यायाधीश अनिलकुमार सिन्हालगायत कार्यक्रममा वक्ताका रूपमा छन्।