कावासोतीमा एक सातादेखि फोहोर उठेन

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

नवलपुरको कावासोती नगरपालिका– १६ मा रहेको अंकुर सामुदायिक वनले फोहोर फाल्न नदिएपछि कावासोतीको फोहोर एक सातादेखि उठ्न छाडेको छ।

सामुदायिक वनसँगको सहमतिअनुसार फोहोरलाई वर्गीकरण गर्ने, कुहिने फोहोरलाई कम्पोस्ट मलको रूपमा परिणत गर्ने, नकुहिने फोहोरलाई थप वर्गीकरण गरी बिक्री हुनेलाई बिक्री गर्नेलगायतको सहमतिपछि नगरपालिकाले वनको नजिकै केरुंगे खोलाछेउमा विगत पाँच वर्षदेखि फोहोर फाल्दै आएको थियो। तर, अहिले नगरपालिकाले सहमति पालना नगरेको भन्दै सामुदायिक वनले रोकेपछि फोहोर उठ्न छाडेको हो।

अंकुर सामुदायिक वनका अध्यक्ष लोकबहादुर केसीले आफूहरूलाई नगरपालिकाले झुक्काएको बताए। नगरपालिकाले कुनै पनि दुर्गन्ध नआउने गरी फोहोर व्यवस्थापन गर्ने, फोहोरलाई वर्गीकरण गर्नेलगायतका सहमति पालना नगरेको केसीले बताए।

फोहोर उठ्न छाडेपछि बजार दुर्गन्धित बन्न थालेको कावासोती– १६ का स्थानीय हरि केसीले बताए। नगरपालिकाले फोहोर उठाउनका लागि बर्सेनि टेन्डर आह्वान गरेर ठेक्कामा फोहोर उठाउन दिने गरेको छ। जसबापत नगरपालिकाले फोहोर संकलन गर्दा घरघरबाट उठेको रकमको २४ प्रतिशत रकम लिने गरेको छ।

फोहोर व्यवस्थित नगर्दा कावासोती– ३ का बासिन्दा दुर्गन्ध सहन बाध्य भएका छन्। विषाक्त खाना खाएर मरेका जनावरको सिनो खाएर आसपासको क्षेत्रमा बर्सेनि दर्जनौँ गिद्धसमेत मर्ने गरेका छन्। फोहोर फाल्न जाने ट्याक्टरचालक तथा मजदुरहरूले घरघर तथा बजारबाट उठाएको फोहोर बाटो–बाटोमा खसाल्दै हिँड्ने गरेकोसमेत पाइएको छ। फोहोर फाल्ने क्षेत्रमा अहिले फोहोर पहाड बनेको छ।

कावासोतीका नगर प्रमुख विष्णुप्रसाद भुसालले सामुदायिक वनले फोहोर फाल्न लिखित पत्र दिएर रोकेको जानकारी गराउँदै फोहोर फाल्ने क्षेत्रलाई व्यवस्थित गराउन कार्यपालिकाको बैठक बसेर थप निर्णय लिइने बताए।

प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले सामुदायिक वनका पदाधिकारीहरूसँगको छलफल सहमतिमा पुगेको बताए। उनले भने, ‘अब केही दिनमा फोहोर उठ्छ। फोहोर उठाउनुपूर्व फोहोर फालिएको ठाउँमा सरसफाइ गर्ने र त्यसपछि थप प्रक्रिया अगाडि बढाएर फोहोर उठाइनेछ।’

सामुदायिक वनका अध्यक्ष केसीले सहमति भएको जानकारी दिँदै सहमतिअनुसार काम नभए तत्काल फोहोर फाल्न नदिने बताए। सहमतिअनुसार फटाफट काम भए पनि बजारको फोहोर उठ्न अझै कम्तीमा एक साता लाग्ने उनको भनाइ छ।

सुझावित समाचार