‘टीकापुर साहित्य महोत्सव’को दोस्रो संस्करण यही फागुन २४ देखि २६ गतेसम्म आयोजना हुने भएको छ। दोस्रो संस्करण नेपालका प्रथम नाटककार तथा सुदूरपश्चिमका राष्ट्रिय गौरव पहलमानसिंह स्वाँर विशेष हुने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ नाम दिइएको महोत्सव लेखक तथा अध्येता हरि शर्माको विद्वत् प्रवचनबाट थालनी हुनेछ। टीकापुरवासीले पहिलोपटक नेपाली कला साहित्यका बहुप्रतिभाशाली विद्वान् व्यक्तित्व अभि सुवेदीको विद्वतासँग साक्षात्कार गर्ने अवसर प्राप्त गर्नेछन्।
महोत्सवमा जम्मा २१ बहस सत्र रहनेछन् जसमा आख्यानकार नारायण ढकाल, केशव दाहाल, बुद्धिसागर, सरस्वती प्रतीक्षा, प्रगति राई, सगुना शाह, रञ्जना निरौला, सुमन वर्षा घिमिरे, प्रभा बराल आदिले नेपाली आख्यानका विविध विषयमा बहस गर्नेछन्।
गैरआख्यानकार विन्दु सुवेदी, युवराज नयाँघरे, प्रतीक ढकाल, मोहन मैनाली, घनश्याम खड्काले नेपाली गैरआख्यान र जीवन–दर्शनबारे विचार–विमर्श तथा विश्लेषण गर्नेछन्। समालोचक लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, डा. व्रतराज आचार्यका साथै सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति अम्मरराज जोशी तथा धनञ्जय तिमिल्सिनाले नेपाली साहित्यमाथि आलोचनात्मक विचार प्रस्तुत गर्नेछन्।
नेपाली काव्य विधामाथि कवि श्यामल, विप्लव प्रतीक, सीमा आभास तथा सुदूरपश्चिमका प्रतिभाशाली युवा कविहरू देवव्रत, खेम बतास, बिपी अस्तु, हेमन्त शिशिर र कल्पना जोशीले बहस गर्नेछन्।
चर्चित अभिनेत्री केकी अधिकारी तथा अभिनेता विजय बरालको उपस्थिति पनि महोत्सवको मुख्य आकर्षणका रूपमा रहनेछ।
त्यसैगरी, नाटक विधातर्फ सुनील पोखरेल, घिमिरे युवराज, पशुपति राई र सुशीला तामाङले आफ्ना धारणा राख्नेछन्। निर्देशक प्रदीप भट्टराई र अभिनेता तथा फिल्म निर्माता रवीन्द्रसिंह बानियाँले नेपाली चलचित्र क्षेत्रबारे बहस गर्नेछन्।
दोस्रो संस्करण ‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ भएकाले अग्रज साहित्यकार पहलमानसिंह स्वाँरका सम्बन्धमा उनकी नातिनी ईश्वरी स्वाँर, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशी तथा स्वाँरमाथि शोध र अध्ययन गरिरहेका विज्ञहरूले स्वाँरको व्यक्तित्व, कृतित्व र योगदानबारे विशेष प्रकाश पार्नेछन्।
महोत्सवको तेस्रो दिन ‘टीकापुरको विकास : अवसर र चुनौती’ शीर्षकमा टीकापुरका मेयर रामलाल डगाैरा थारू, पूर्वमेयर तपेन्द्र रावल तथा वीरेन्द्र विद्या मन्दिर शैक्षिक गुठीका अध्यक्ष नवराज रावलले बहस गर्नेछन्। ‘किन ओझेलमा छन् दलितका मुद्दा ?’ शीर्षकमा सांसद सन्तोष परियार, अभियन्ता रिता परियार तथा डा. रणबहादुर रावलबिच छलफल हुनेछ। ‘संघीय सरकारको नीतिमा सुदूरपश्चिमम’ शीर्षकमा कैलालीबाट प्रतिनिधित्व गर्ने सांसद ईश्वरी न्यौपाने, गरिमा शाह र कैलाश चौधरीले बहस गर्नेछन्।
महोत्सवको पहिलो दिन हुने काव्य सन्ध्यामा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी वर्तमान समयका चर्चित र सशक्त कविहरू श्यामल, विप्लव प्रतीक, सीमा आभास, रोशन परियार, अविनाश भट्टराई, एस लामा, शान्तिप्रिया वन्दना, शान्ति शर्मा, प्रभा भट्टराई, प्रोज्ज्वल अधिकारी, रसिक राज, कल्पना जोशी, देवव्रत, खेम बतास र हेमन्त शिशिर आदिले कविता वाचन गर्नेछन्। महोत्सवको दोस्रो दिन हुने गजल सन्ध्यामा चर्चित तथा लोकप्रिय गजलकारहरू संगीता थापा, प्रदीप रोदन, पुष्पराज आचार्य, रूपक बनवासी, सुमन स्मारिका, अमला अधिकारी, मुना बोहराजस्ता गजलकारहरूले महफिल जमाउनेछन् ।
त्यसैगरी, तेस्रो दिन संगीत सन्ध्या हुनेछ जसमा सुदूरपश्चिमका लोकप्रिय कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। टीकापुर महोत्सव संयोजक तथा लेखक महेशविक्रम शाहले भने, ‘महोत्सवका सम्पूर्ण गतिविधिका माध्यमबाट विभिन्न साहित्यिक परम्परा र आवाजहरूको संरक्षण र प्रवर्द्धनमा योगदान पुग्छ।’
टीकापुर साहित्य महोत्सव आयोजनाको मुख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालय रहेको छ भने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान यस महोत्सवको प्रवर्द्धक रहेको छ। सहप्रवर्द्धक टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहनेछन्।
दोस्रो संस्करणका लागि नेपाल पर्यटन बोर्ड, राष्ट्रिय वाणिज्य बैंक, बुद्ध एयर, यती एयर, होटेल सिद्धार्थलगायत विभिन्न राष्ट्रिय संघसंस्थाहरूले प्रायोजन तथा सहकार्य गरेको विज्ञप्तिमा उल्लेख छ।