बंगलादेशी अशान्तिमा गुगलको पक्षपात

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

भारत र बंगलादेशबिच बढ्दो तनावबिच भारतपक्षीय एक मिथ्या सूचना अभियानले गुगलको पक्षपातलाई साम्प्रदायिकताका लागि प्रयोग गर्दै छ  
गुगलको सर्च (खोज) इन्जिनले विश्वभर अधिकांश अनलाइन खोजी सञ्चालन गर्छ, जसले प्रतिसेकेन्ड ६३ लाख प्रश्नको जवाफ दिन्छ । तटस्थ नियमबाट सञ्चालित भएको दाबी गरे पनि यसको एल्गोरिदमले प्रायः पक्षपातपूर्ण नतिजा दिइरहेको हुन्छ । भारत र बंगलादेशबिच बढ्दो तनावका क्रममा भारतपक्षीय एक मिथ्या सूचना अभियानले यो पक्षपातलाई इस्लामविरोधी र आतंक उत्पन्न गर्ने एजेन्डा फैलाउन उपयोग गरिरहेको छ, जसको सम्बन्ध बंगलादेशमा भएका दंगा र हिंसात्मक घटनासँग जोडिएको छ । यसले गुगलको सर्च इन्जिनले जनमत निर्माणमा पार्ने प्रभाव र यसलाई दुरुपयोग गर्न सकिने जोखिमलाई उजागर गर्छ । त्यसैले प्रयोगकर्ताले सतही रूपमा नस्विकारेर गुगलका नतिजालाई आलोचनात्मक दृष्टिले हेर्न आवश्यक छ ।

गुगलको सर्च इन्जिनलाई सञ्चालन गर्न यसको एल्गोरिदमले विशाल मात्रामा संकलित डेटा (तथ्यांक) प्रयोग गरेर इन्जिनलाई प्रशिक्षण गर्छ । यो डेटा कम्प्युटर बोटबाट संकलन गरिन्छ, जसले इन्टरनेटका अर्बौं पृष्ठलाई केलाएर स्वचालित रूपमा तिनका सामग्री र गुणस्तर विश्लेषण गर्छन् । यो जानकारी ठुलो डाटाबेसमा संग्रह गरिन्छ, जसले गुगलको सर्च इन्जिनसामु कुनै पनि प्रश्न आउँदा नतिजा प्रदान गर्छ ।

तर, यस प्रक्रियाले इन्टरनेटका सबै वेबसाइट समेट्दैन । यो के उच्च गुणस्तरको हो र के निम्न गुणस्तरको हो भन्ने पूर्वनिर्धारित नियमद्वारा नियन्त्रित हुन्छ र यसले डेटामा भएका विद्यमान पूर्वाग्रहलाई प्रतिबिम्बित गर्छ । उदाहरणका लागि विश्वका केवल १६ प्रतिशत जनसंख्याले अंग्रेजी बोल्छन्, तर इन्टरनेटमा रहेका सबै लिखित सामग्रीमध्ये ५५ प्रतिशत अंग्रेजी भाषामा छन् । यसको अर्थ गैरअंग्रेजीभाषी देशको धरातलीय वास्तविकता गुगल सर्च नतिजामा प्रायः देखिँदैन । यो विशेषतः दक्षिणी गोलार्ध (विकासोन्मुख देश) मा रहेका देशका हकमा सत्य देखिन्छ । यस्तो अभावले वास्तविक विश्वका पूर्वाग्रहलाई थप बल दिन्छ र विश्वव्यापी मुद्दाको सूक्ष्म एवं व्यापक बुझाइमा अवरोध पुर्याउन सक्छ ।

मुसलमान बाहुल्य बंगलादेश र छिमेकी भारत (जसलाई हाल हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) सरकारले नेतृत्व गरिरहेको छ) बिचको सम्बन्ध हाल बिग्रिएको छ । गत अगस्टमा बंगलादेशमा युवा नेतृत्वमा भएको सरकारविरोधी प्रदर्शनले भारत समर्थित प्रधानमन्त्री सेख हासिनाको दीर्घकालीन अधिनायकवादी शासन पतन गरायो ।

हासिनाको पतनपछि अन्तरिम सरकारले सत्ता सम्हाले पनि केही भारतीय मिडियाले हिन्दु अल्पसंख्यक अधिकारको मुद्दा प्रयोग गर्दै यसको वैधतामाथि प्रश्न उठाए । नोभेम्बरमा बंगलादेशी अधिकारीले हिन्दु नेता चिन्मय कृष्ण दासलाई राष्ट्रद्रोह आरोपमा पक्राउ गरेपछि हिंसात्मक झडप भए, जहाँ एक मुसलमान कानुन व्यवसायीको मृत्यु भयो र भारतमा रहेको बंगलादेशी वाणिज्य दूतावासमा आक्रमण भयो । बंगलादेशमा हिन्दुविरुद्ध भिड हिंसाका प्रमाणित घटना भएका छन् । तर, बंगलादेशी सरकारले यस्ता घटनालाई साम्प्रदायिक नभई राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेको छ । यो महिना प्रदर्शनकारीले ढाकामा रहेको अपदस्थ प्रधानमन्त्री सेख हासिनाको पुख्र्यौली घरमा आक्रमण गरेपछि आन्दोलन थप चर्कियो ।

भारत आधारित एक दुष्प्रचार अभियानले बंगलादेशमा हिन्दुविरुद्ध भएका केही धार्मिक हिंसाका घटनालाई बढाइचढाइ गरेको छ । यो अभियानलाई गुगलको एल्गोरिदमिको पक्षपातले थप बल पुर्याएको छ । उदाहरणका लागि टेक ग्लोबल इन्स्टिच्युटले गत वर्ष २५ नोभेम्बरदेखि २० डिसेम्बरबिच चिन्मय कृष्ण दासको गिरफ्तारीसम्बन्धी गुगल खोजी नतिजाको विश्लेषण गर्दा ‘निरन्तर पक्षपाती ढाँचा’ देखाएको थियो । विशेषतः भारतीय समाचार माध्यम, जसमा हिन्दु उग्र–राष्ट्रवादी समाचार संस्था पनि समावेश छन् र यी संस्था ‘असन्तुलित रूपमा’ शीर्ष सर्च नतिजामा हाबी थिए । यसले घटना भएको बंगलादेशमा खोजी हुँदाहुँदै पनि विश्वसनीय बंगलादेशी सञ्चार माध्यमको तथ्यगत रिपोर्टलाई छायामा पारिदियो । यो पक्षपात विदेशबाट गरिएका खोजीमा पनि स्पष्ट देखियो । उदाहरणका लागि अस्ट्रेलिया र अमेरिकाबाट चिन्मय कृष्ण दाससम्बन्धी खोजीमा लगभग ९० प्रतिशत शीर्ष नतिजा भारतीय समाचार माध्यमबाट थिए । बंगलादेशी समाचार माध्यम भने तेह्रौँ र चौधौँ पृष्ठमा मात्र देखिए ।

भारतीय सञ्चार माध्यमले बंगलादेशी समाचार माध्यमविपरीत अंग्रेजीमा ठुलो मात्रामा कन्टेन्ट (विषयवस्तु) उत्पादन गर्छन् । यी संस्थाले अधिक उन्नत सर्च इन्जिन अप्टिमाइजेसन (एसइओ) प्रविधि प्रयोग गर्छन्, जहाँ प्रभावकारी किवर्ड र सनसनीखेज शीर्षक प्रयोग गरिन्छन् । यसले भारतीय सञ्चार माध्यमलाई गुगल सर्च नतिजामा बंगलादेशी समाचार माध्यमको तुलनामा लाभ पुर्याउँछ । बंगलादेशी तथ्य जाँच गर्ने संस्था ‘रुमर स्क्यानर’ले डिसेम्बर २०२४ मा गरेको अर्को अनुसन्धानले ७२ प्रतिशत मिथ्या र दुराशययुक्त सूचना फैलाउने सामाजिक सञ्जाल एकाउन्ट भारतआधारित भएको पत्ता लगाएको थियो । द कन्भर्सेसनले गुगलसँग यसको सर्च इन्जिनबारे केही प्रश्न गरेको थियो, तर जवाफ आएन ।

बंगलादेश एल्गोरिदम निःसृत पक्षपातको वैश्विक समस्याको एक नमुना हो । यसले कसरी सर्च इन्जिनलाई मिथ्या एवं दुराशययुक्त सूचना फैलाउन र मानिसलाई विश्वभर भइरहेका घटनाबारेका धारणालाई शक्तिशाली ढंगले आकार दिन प्रयोग गर्न सकिन्छ भन्ने देखाउँछ । यसले सबैले अनलाइन पाएका जानकारीबारे विशेषतः बंगलादेशको वर्तमान स्थितिबारे आउने सूचनामाथि आलोचनात्मक सोच राख्न आवश्यक भएको दर्साउँछ । यस मामिलाले नीति निर्माता, प्राविधिक कम्पनी र सरकारलाई एल्गोरिदम निःसृत पक्षपातको प्रभावकारी समाधानका लागि सँगै काम गर्नुपर्ने तात्कालिक आवश्यकतामा जोड दिन्छ । यो विशेषतः दक्षिणी गोलार्धमा अत्यन्तै आवश्यक छ, जहाँ सीमान्त आवाजलाई मौन बनाइन्छ ।

(अजिज अस्ट्रेलियाको मोनास विश्वविद्यालयका मिडिया तथा सञ्चार अध्ययनका लेक्चरर हुन्) 
द कन्भर्सेसनबाट

 

सुझावित समाचार